१० महिनामा ३७ अर्बको मोबाइल फोन आयात



काठमाडौं । चालु आर्थिक वर्ष २०७८–७९ को पहिलो दश महिनामा नेपालले करिव ३७ अर्ब रुपैयाँको मोबाइल फोन आयात गरेको छ।

अघिल्लो एक वर्षमा नेपाल भित्रिएकोभन्दा बढी रकमको मोबाइल फोन चालु आर्थिक वर्षको पहिलो १० महिनामै भित्रिएको छ।

भन्सार विभागले आज सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो दश महिनामा नेपालले ३६ अर्ब ९४ करोड १५ लाख २९ हजार रुपैयाँको मोबाइल फोन आयात गरेको छ।

अघिल्लो आर्थिक वर्ष २०७७–७८ मा विभिन्न देशबाट नेपालले ३६ अर्ब ९० करोड ४५ लाख ८४ हजार रुपैयाँको मोबाइल फोन आयात गरेको थियो।

विभागका अनुसार पछिल्लो दश महिनामा नेपालमा ५३ लाख ६५ हजार ११५ थान मोबाइल भित्रिएका छन्। नेपालमा सबैभन्दा बढी मोबाइल फोन चीन, भारत र भियतनामबाट आउने गरेको छ।

चालु आर्थिक वर्षको पहिलो दश महिनामा चीनबाट २२ अर्ब १९ लाख ६० हजार रुपैयाँ, भारतबाट १२ अर्ब ५२ करोड २१ लाख ६७ हजार रुपैयाँ, भियतनामबाट १ अर्ब ६१ करोड ४६ लाख ९५ हजार रुपैयाँ, युनाईटड अरब इमिरेट्सबाट २७ करोड २८ लाख ७७ हजार रुपैयाँ र अमेरिकाबाट १४ करोड २५ लाख ७४ हजार रपैयाँको मोबाइल नेपाल भित्रिएको छ।

प्रतिक्रिया दिनुहोस्