जनआन्दोलनका कमाण्डर स्व. सिंहको सम्झना गरिँदै



काठमाडौं : २०४६ सालको जनआन्दोलनका कमाण्डर एवं लौहपुरुष गणेशमान सिंहको १०४औँ जन्मजयन्ती । गणेशमान सिंह फाउण्डेशनले शोभाभगवतीमा शनिबार बिहान आयोजना गरेको कार्यक्रममा स्व. सिंहको योगदानको चर्चा गरिँदै उनको शालिकमा माल्यार्पण गरियो ।  

कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्व. सिंहको महत्वपूर्ण भूमिका रहेको बताए । स्व‍. सिंह संघर्षशील, त्यागी, लौहपुरुष, प्रजातान्त्रिक आन्दोलनलाई सहज ढङ्गले नेतृत्व गर्ने नेता हुनुहुन्थ्यो, उनले भने ।  

उनले विधानअनुुसार पार्टी सभापति चल्न नसकेको आरोप लगाए । विधानभन्दा सभापति माथि हुँदा पार्टी यो हालतमा आइपुगेको उनको भनाइ छ ।  कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य डिला सङ्ग्रौला, काङ्ग्रेस काठमाडौं पार्टी सभापति सबुज बानियाँ, सांसदहरु, भ्रातृ संस्थाका अध्यक्ष एवं पदाधिकारी उपस्थित थिए ।  

१९७२ कात्तिक २४ गते जन्मिएका लौहपुरुष सिंहको निधन २०५४ असोज २ गते भएको थियो । नेपाली राजनीतिमा गरेको सिंहको योगदानलाई स्मरण गर्दै हरेक वर्ष उनको जन्मजयन्ती र स्मृति दिवसमा विभिन्न कार्यक्रम गरिन्छ । 

प्रतिक्रिया दिनुहोस्