९ प्रतिशत बढ्यो अपराधको ग्राफ, दैनिक ६ बलात्कार



काठमाडौं : अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष ०७५/७६ मा अपराधका घटनामा ९ प्रतिशत वृद्धि भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सार्वजनिक अपराधबाहेक सबै किसिमका अपराधका घटना बढेका छन् । बलात्कार, लागुऔषध, चोरी र बैंकिङ कसुरजस्ता गम्भीर प्रकृतिका आपराधिक घटना अझ बढेका छन् ।

प्रहरीको तथ्यांकअनुसार आव ०७५/७६ मा ४३ हजार ४७ मुद्दा दर्ता भएका छन् । त्यसअघिको वर्ष ३९ हजार तीन सय १५ आपराधिक घटना भएका थिए । गत वर्ष दुई हजार दुई सय ३३ वटा बलात्कार तथा बलात्कार प्रयाससम्बन्धी उजुरी प्रहरीमा परेका छन् ।

जसअनुसार दैनिक औसतमा ६ भन्दा धेरै बलात्कारका घटना हुने गरेका छन् । यो अघिल्लो वर्षको तुलनामा ३३.७२ प्रतिशत बढी हो । निर्मला पन्तको बलात्कार र हत्यापछि प्रहरीसहितका निकायले यस्ता अपराध नियन्त्रणका लागि विशेष अभियान चलाएका थिए । तर, अपराधका घटना झन् बढेका छन् । ‘उजुरी दिनुपर्छ भन्ने चेतना बढेकाले पनि विगतको तुलनामा संख्या बढेको हुन सक्छ,’ प्रहरी प्रवक्ता विश्वराज पोखरेल भन्छन् । बलात्कारका थुप्रै घटनामा उजुरी पर्दैन । 

बलात्कारका ६२ प्रतिशत घटनामा बालिकाहरू पीडित भएका छन् । ७९ प्रतिशत बलात्कारका घटना चिनजानकै व्यक्तिबाट र ६ प्रतिशत घटना घरभित्रैबाट भएका छन् । 

त्यस्तै, चोरीसम्बन्धी अपराध ७६ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष एक हजार ६ सय २८ वटा चोरीका घटना भएकोमा गत वर्ष बढेर दुई हजार आठ सय ७४ पुगेको छ । 

तीन सय प्रतिशत बढ्यो बैंकिङ कसुर

बैंकिङ कसुरका मुद्दा तीन सय ८ प्रतिशतले बढेको प्रहरीको तथ्यांक छ । गत वर्ष बैंकिङ कसुरसम्बन्धी तीन हजार एक सय ६६ वटा मुद्दा प्रहरीमा दर्ता भएको छ । अघिल्लो वर्ष यो संख्या सात सय ७६ मात्र थियो । 

चेक बाउन्सका घटनालाई प्रहरीले बैंकिङ कसुरमा कारबाही गर्न थालेपछि उजुरीको संख्या बढेको हो । सामान्य लेनदेनका विवाद पनि बैंकिङ कसुरका रूपमा कारबाही हुन थालेको छ । विगतमा यस्तो अपराध चेक अनादार मुद्दा अर्थात् देवानी मुद्दाका रूपमा कारबाही हुने गर्दथ्यो । अहिले फेरि बैंकिङ कसुर ऐन संशोधन गरी चेक बाउन्सलाई देवानी मुद्दामै राख्न छलफल सुरु भएको छ । अघिल्लो वर्ष तीन हजार ८८ वटा लागुऔषध मुद्दा चलाएको प्रहरीले यस वर्ष तीन हजार सात सय दुई पुगेको छ ।

सार्वजनिक अपराध घट्यो 

सार्वजनिक अपराधका घटना भने ३८ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा १४ हजार दुई सय ८३ वटा सार्वजनिक अपराधका मुद्दा प्रहरीले दर्ता गरेकोमा गत वर्ष १० हजार दुई सय ८४ वटा मात्र मुद्दा दर्ता भएका छन् । 

गत वर्ष भदौदेखि लागू भएको मुलुकी अपराध संहिताका कारण यस्तो अपराध घटेको हो । संहिता लागू भएपछि कुनै अभियुक्तलाई पक्राउ गर्न प्रहरीले पहिले अदालतको आदेश लिनुपर्ने प्रावधान छ । सामान्य झैझगडा तथा शान्तिसुरक्षामा असर गरेको घटनामा प्रहरीले सार्वजनिक अपराध मुद्दा चलाउने गर्छ । 

त्यस्तै, साइबर अपराध एक सयबाट बढेर एक सय ६७ पुगेको छ भने संगठित अपराधका घटना १७ वटाबाट १२ मा घटेको छ । अपहरणका घटना ७७ बाट बढेर एक सय १५ पुगेको छ भने मानव बेचबिखनका मुद्दा तीन सय ८ बाट दुई सय ४८ मा झरेको छ । मानव बेचबिखनसम्बन्धी घटना बढे पनि पीडितले उजुरी दिन कम भएको प्रहरीको भनाइ छ । 

४३ हजार ४७ मुद्दामा गत वर्ष ४० हजार तीन सय ७१ जना पक्राउ परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । गत आर्थिक वर्षमा ७२.८ प्रतिशत मुद्दामा प्रहरीको दाबीअनुसार फैसला भएको प्रहरी प्रवक्ता पोखरेलले बताए । यो अघिल्लो वर्षभन्दा ४ प्रतिशत धेरै हो । 

एक वर्षको अवधिमा प्रहरीले चार हजार पाँच सय एकजना फरार अपराधी पक्राउ गरी ७३ करोड सात लाख तीन सय ६५ बिगो असुल गरेको छ ।

दैनिक दुई हत्या १५ आत्महत्या 

हत्या र आत्महत्याका घटना पनि बढेका छन् । गत वर्ष ६ सय ५९ जनाको हत्या भएको छ । ८० प्रतिशत हत्याका घटना आवेशप्रेरित र आफन्तबाटै हुने गरेको प्रहरीको भनाइ छ । 

त्यस्तै, आत्महत्याको संख्या पनि डरलाग्दो रूपमा बढेको छ । एक वर्षमा पाँच हजार सात सय ४९ जनाले आत्महत्या गरेका छन् । अर्थात्, दैनिक औसत १५ व्यक्तिले आफूखुसी ज्यान दिन्छन् । अघिल्लो वर्ष पाँच हजार तीन सय १७ जनाले आत्महत्या गरेका थिए । पारिवारिक तनाव, गरिबी, गम्भीर रोगजस्ता कारणले आत्महत्या बढेको प्रहरीको मूल्यांकन छ ।  नयाँपत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्