उम्मेदवार छनोट त्रुटिबारे कांग्रेसभित्र समीक्षा



महोत्तरी । स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोटमा भएको कमिकमजोरी र त्रुटिबारे कांग्रेसभित्र समीक्षा हुन थालेको छ । विशेषगरी पार्टीबाट टिकट नपाएपछि बागी (स्वतन्त्र) रुपमा उम्मेदवारी दिएका निर्वाचित भएपछि कांग्रेस मधेश प्रदेशमा उम्मेदवार छनोटमा भएको त्रुटिबारे समीक्षा गरिन थालिएको हो ।

टिकट वितरणमा असन्तुष्टि जनाउँदै पार्टीभित्रैबाट वागी बनेका जनकपुरधाम उपमहानगरपालिकाका मनोज साह सुडी र बर्दिबास नगरपालिकाका प्रल्हाद क्षेत्रीले लोकप्रिय मत ल्याएर विजयी भएपछि कांग्रेस मधेश प्रदेशमा समीक्षा सुरु भएको हो ।

मनोनयन दर्ताको अन्तिम दिन क्षेत्रीको टिकट केन्द्रबाट हस्तक्षेप गर्दै खोसिएको थियो भने जनकपुरधाममा साहको चर्चा हुँदाहुँदै सत्ता गठबन्धन दलले जसपाबाट लालकिशोर झालाइ टिकट दिएको थियो ।

जनकपुरधाम उपमहानगरपालिकामा घण्टा घर चुनाव चिह्न लिएर चुनावी प्रतिस्पर्धामा होमिएका साहले निकटतम प्रतिद्वन्द्वीलाइ ४ हजार ३० मतले पराजित गरे । निकटतम प्रतिद्वन्द्वी एमालेका शिवशंकर साहले ९ हजार ५३२ मत ल्याए भने मनोज साहले १३४६५ मतसहित फराकिलो मतान्तरले विजयी भए ।

सत्ता गठबन्धनका साझा उम्मेदवार लालकिसोर झा चौथो नम्बरमा खुम्चिनु पर्‍यो भने एमाले, लोसपा क्रमशः दोस्रो र तेस्रो बने । उपमहानगरपालिकामा मनोज साह जस्तै बागी र स्वतन्त्र गरी २६ जनाले उम्मेदवारी दिएका थिए ।

त्यस्तै बर्दिबास नगरपालिकामा पनि चुनावी मतपरिणाम निकै रोचक बन्यो । कांग्रेसले गरेको टिकट वितरणप्रति असन्तुष्टि जनाउदै बागी उम्मेदवार बनाएर कांग्रेसको असन्न्तुष्ट समूह चुनावी मैदानमा होमियो ।

टिकटको चर्चा र जनाधार प्रल्हाद क्षेत्रीको पक्षमा हुँदाहुँदै चिरञ्जीवी हमाललाई टिकट थमाएको आरोप लगाउदै कांग्रेस नगरकमिटीका सभापतिसहित नेता कार्यकर्ता प्रल्हाद क्षेत्रीको पक्षमा उभिए । जसको परिणामस्वरूप क्षेत्रीले प्यानलसहित उम्मेदवारी दर्ता गराएका थिए । निकै लोकप्रिय मतसहित विजयी भएका क्षेत्रीले आफूमात्र विजयी भएनन्, प्यानललाइ नै विजयी गराए ।

चारवटा वडा, उपमेयरसहित विजयी भएका क्षेत्रीले माओवादी केन्द्रलाइ ५ हजार ८८७ को फराकिलो मतान्तरले पराजित गरे । माओवादी केन्द्रवाट उम्मेदवार बनेका राजु खडकाले ८ हजार ३२३ मत ल्याए भने प्रल्हाद क्षेत्रीले १४ हजार २१० मत ल्याएर विजयी भए ।

क्षेत्रीले बर्दिबास नगरपालिकामा २० वर्षदेखि एकल राज गर्दै आएको माओवादी केन्द्रलाइ मात्र विस्थापन मात्र गराएनन, कांग्रेसका आफ्नै आधिकारिक उम्मेदवार चिरञ्जीवी हमालको जमानत जफतसमेत गराए । चिरञ्जीवी हमालले १२६३ मतमा नै सीमित बन्नुपर्‍यो ।

जनता र कार्यकर्ताको भावनाविपरीत पार्टीले टिकट दिँदा आधिकारिक टिकट उम्मेदवार पराजित र बागी निर्वाचित भएपछि कांग्रेस मधेश प्रदेशभित्र उम्मेदवार छनोटमा भएको कमिकमजोरीबारे समीक्षा हुन थालेको हो ।

प्रतिक्रिया दिनुहोस्