राष्ट्र बैंकको सञ्चालक सदस्यमा सिवाकोटी र आचार्य नियुक्त



काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक सदस्यहरुमा चिन्तामणी सिवाकोटी र शंकर आचार्य नियुक्त भएका छन् । जेठ ६ गतेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरी मंगलबार मात्रै माइन्युट गरेको एक मन्त्रीले जानकारी दिइन् ।

सरकारले सिवाकोटी र आचार्यलाई आगामी पाँच वर्षका लागि राष्ट्र बैंकको सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । गत वैशाख ३ देखि राष्ट्र बैंकका पूर्वसञ्चालक द्वय श्रीराम पौडेल र रामजी रेग्मीको पाँच वर्षे कार्यकाल सकिएको थियो ।

त्यसयता राष्ट्र बैंकका दुई सञ्चालक पद खाली थियो । सरकारले तत्काल सञ्चालक नियुक्तिको प्रक्रिया अघि बढाए पनि स्थानीय निर्वाचनको कारण निर्वाचन आयोगले स्वीकृति दिएको थिएन ।

आयोगबाट स्वीकृति आएपछि सरकारले सञ्चालक नियुक्तिको निर्णय गरेको हो । सिवाकोटी राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर र आचार्य पूर्वकार्यकारी निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्