एमाले प्रवेश गरेका पुण्य गौतम आमरण अनशनमा



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले प्रवेश गरेका पुण्य गौतम विभिन्न चार बुँदे माग राख्दै आमरण अनसन बस्ने भएका छन् । जनसरोकारसँग सम्बन्धित विभिन्न चार बुँदे माग राख्दै आजैबाट अनशन सुरु गर्न लागेको उनले बताएका छन् ।

गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ को कार्यालय अगाडि अनशनस्थल तय गरिएको छ । गौतमले आफूसँगै अनशन बसेर साथ दिन अरूलाई पनि अपिल गरेका छन् । सुरुको चरणमा उनलाई एमालेकै समर्थक तिलक कार्कीले साथ दिने भएका छन्।

आफू आमरण अनशन बस्ने र अरूले रिले अनशन बसेर साथ दिन सक्ने गौतमले बताए । पेट्रोलियम पदार्थ र खाने तेलको मूल्यवृद्धि फिर्ता लिनुपर्ने गौतमको पहिलो माग छ । दोस्रो बुँदामा उनले नेपाल विद्युत् प्राधिकरणले ग्राहकबाट लिइरहेको न्यूनतम चार्ज घटाउनुपर्ने माग राखेका छन् ।

त्यस्तै सरकारले जेठदेखि लागू गरेको आइतबारे बिदा खारेज गर्नुपर्ने र निजी विद्यालयहरूले गरेको शुल्क वृद्धि फिर्ता लिनुपर्ने पनि गौतमको माग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्