दशैंसम्म चिनी आयातमा रोक लगाउन उद्योगीको आग्रह



काठमाडौं : नेपाली चिनी उद्योगी व्यवसायीहरुले भारतलगायतका मुलुकबाट हुने चिनी आयात रोक्न सरकारलाई आग्रह गरेका छन् । नेपाली उद्योगहरुले उत्पादन गरेको चिनी पर्याप्त मात्रामा भण्डारणमा रहेकाले थप ‘दुई महिना चिनी आयात गर्नु आवश्यक नरहेको नेपाली व्यवसायीहरुले जनमएका छन् ।

अझै ‘दुई महिनालाई पुग्ने परिमाणमा चिनी मौज्दात रहेकाले तत्काल चिनीको आयात रोक्न सरकारलाई केही दिनअघि लिखित आग्रह गरिएको नेपाल चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवालले बताए ।

अग्रवालका अनुसार नेपालमा अहिले आफ्नै उत्पादनको चिनी एक लाख मेक्ट्रिक टन मौज्दात छ । नेपालको दैनिक खपत सामान्य अवस्थामा २० हजार मेक्ट्रिक टन र चाडपर्वका बेला ३० हजार मेक्ट्रिक टन रहेको छ ।

‘दुई महिनापछि बजारबारे थप अध्ययन गरेर चिनी आयातबारे निर्णय गर्न सकिन्छ,’ अग्रवालले भने, ‘आयात नरोके उखु किसान र उद्योगी मारमा पर्नेछन् ।’

व्यवसायीहरुले चिनीको माग आन्तरिक बजारले धान्न सक्ने दाबी गरेता पनि वाणिज्य मन्त्रालयले भने उद्योगीको निवेदन आए पनि चिनीको आयात रोक्ने विषयमा कुनै निर्णय नभएको बताएको छ ।

यसअघि पनि विवाद सिर्जना भएको र प्रधानमन्त्रीले स्वयमले नोटिसमा राखेको हुनाले चिनीको विषयमा तत्काल कुनै निर्णय हुन नसक्ने अर्थ मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्