आन्तरिक कमजोरीले स्थानीय निर्वाचनमा कम सिट जित्यौं : माओवादी



काठमाडौं । नेकपा माओवादी केन्द्रले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा आन्तरिक कमजोरीले कम सिट जितेको निश्कर्ष निकालेको छ ।

पूर्व स्थायी समिति सदस्यहरुको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको अनौपचारिक बैठकले आन्तरिक सांगठनिक कमजोरीका कारण निर्वाचनमा कम परिणाम आएको प्रारम्भिक निष्कर्ष निकालेको हो ।

पूर्व स्थायी समिति सदस्य डिलाराम आचार्यले १ सय ५० भन्दा बढी पालिकामा जित्ने आफूहरुको प्रक्षेपण भए पनि पार्टीको आन्तरिक सांगठनिक कमजोरीका कारण कम सिट आएको निष्कर्ष बैठकमा निकालिएको बताएका छन् ।

चुनावको विस्तृत समीक्षा भने जेठ २० गते बोलाइएको केन्द्रीय समितिको भर्चुअल बैठकमा हुने आचार्यले बताएका छन् । स्थानीय तहको चुनावअघि बसेको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले एमसीसीबारे पार्टीभित्र देखिएको विवाद, पदाधिकारी चयन गर्नेलगायतका एजेन्डामा निर्णय गर्न जेठ २० गते बैठक बस्ने निर्णय गरेको थियो ।

तर, माओवादीले उक्त बैठकलाई भर्चुअल बनाउँदै चुनावी समीक्षामा मात्रै केन्द्रित गर्ने भएको छ । आचार्यले भर्चुल बैठक चुनावी समीक्षा केन्द्रित हुने र पदाधिकारी छनोट लगायतका विषयमा असारमा बस्ने भौतिक बैठकमा निर्णय हुने जानकारी दिएका छन् ।

स्थानीय पालिकाहरुले असार १० गते बजेट ल्याएपछि मात्रै केन्द्रीय समितिको भौतिक बैठक बस्ने उनको भनाइ छ । स्थानीय तह चुनावमा माओवादीले १२१ वटा पालिकामा प्रमुख र १२८ वटा पालिकामा उपप्रमुख जितेको छ ।

प्रतिक्रिया दिनुहोस्