स्थानीय तह निर्वाचनमा लमजुङमा एमाले पहिलो पार्टी बन्यो



लमजुङ । स्थानीय तह निर्वाचन परिणाम अनुसार लमजुङमा नेकपा एमाले पहिलो पार्टी बनेको छ। जिल्लाका सबै स्थानीय तहका प्रमुख एवं अध्यक्षहरुको मत परिणाम अनुसार नेकपा एमालेको मतभार धेरै देखिएको हो। जिल्लामा नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्षहरुले प्राप्त गरेको मत अनुसार नेकपा एमालेको पक्षमा ४२ हजार सातसय २१ मत आएको छ भने गठबन्धन दलहरुका प्रमुख उम्मेदारहरुको मत ४१ हजार ६३ रहेको छ।

स्थानीय तहको निर्वाचनमा पालिका प्रमुखहरुले प्राप्त गरेको मत अनुसार निर्वाचन क्षेत्र ख मा नेकपा एमालेको मत धेरै छ भने निर्वाचन क्षेत्र प्रदेश क मा गठबन्धनको मतभार बढि देखिएको छ। प्रदेश क मा गठबन्धन दल ४ सय २१ मतले अगाडी देखिएको हो भने प्रदेश ख मा दुईहजार ७९ मत ले नेकपा एमाले अगाडी देखिएको छ।

निर्वाचन मत परिणाम अनुसार प्रदेश सभा क मा गठबन्धन दलका उम्मेदारहरुको प्राप्त मत २० हजार एकसय २७ रहेको छ। सोहि निर्वाचन क्षेत्रमा नेकपा एमालेको पक्षमा १९ हजार सातसय ६ मत परेको छ। त्यसैगरी प्रदेश सभा ख मा गठबन्धन दलका उम्मेदारहरुको पक्षमा २० हजार ९ सय ३६ मत परेको छ भने नेकपा एमालेको पक्षमा २३ हजार १५ मत परेको छ।

प्रदेश सभाका लागि २ निर्वाचन क्षेत्र रहेको लमजुङमा प्रदेश निर्वाचन क्षेत्र क अन्तर्गत राईनास नगरपालिका, दुधपोखरी गाउँपालिका, दोर्दी गाउँपालिका, मर्स्याङदी गाउँपालिका र बेसीशहर नगरपालिकाको वडा नम्वर १० र ११ रहेका छन्। त्यसैगरी प्रदेश सभा निर्वाचन क्षेत्र ख मा बेसीशहरका एक देखि ९ सम्मका वडा, सुन्दरवजार नगरपालिका, मध्यनेपाल नगरपालिका र क्होलासोँथार गाउँपालिका रहेका छन् ।

निर्वाचन परिणाम अनुसार जिल्लाका आठवटै स्थानिय तह प्रमुखहरुको मत परिणाम अनुसार नेकपा एमालेको पक्षमा एकहजार ६ सय ५८ बढि मत आएको हो ।

यद्यपी यहि मत परिणामलाई आधार बनाएर राजनितिक दलहरु आगामी चुनावको रणनिति बनाउने तयारीमा छन् । स्थानिय तह निर्वाचनमा केहि प्रतिशत मतदाताहरु राजनितिक दल भन्दा पनि व्यक्ती विशेष प्रभावित हुने पाईएकोले आगामी निर्वाचनको परिणाम आँकलन गर्न सकिदैन ।

जिल्लामा नेकपा एमालेको मत एकिन गर्न सकिएपनि कांग्रेस र माओवादीबिच गठबन्धन हुँदा २ पार्टीहरुको मत कति भन्ने एकिन गर्न सकिएको छैन्। यद्यपी यो मत परिणामले आगामी मसिरमा हुने प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचनका लागि दलहरुको आधार बनेको छ।

४ नगरपालिका र ४ गाउँपालिका रहेको जिल्लामा नेकपा एमालेले एक नगरपालिका सहित ३ वटा गाउँपालिका अध्यक्ष जितेको छ। एक गाउँपालिका सहित ३ वटा नगरपालिकामा भने गठबन्धनका तर्फबाट नेपाली काँग्रेसले जित हासिल गरेको छ। नेकपा एमालेले बेसीशहर नगरपालिका, मर्स्याङदी, दोर्दी र क्होलासोँथारमा जित हासिल गरेको हो। गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले दुधपोखरी गाउँपालिका सहित सुन्दरवजार, मध्यनेपाल र राईनास नगरपालिकामा जित हासिल गरेको हो।

प्रतिक्रिया दिनुहोस्