पोखराका मेयर आचार्यले भने, ‘निर्वाचन आयोगको गल्तीका कारण धेरै मत बदर भयो’



पोखरा । पोखरा महानगरका नवनिर्वाचित मेयर धनराज आचार्यले निर्वाचन आयोगको भुलका कारण अहिले धेरै मत बदर भएको र गठबन्धन शक्तिले धेरै ठाउँमा चुनाव हारेको तर्क गरेका छन्।

विजयी र्‍यालीपछि आयोजित सभालाई सम्बोधन गर्दै उनले आयोगको बदनियतका कारण आफ्नो उपमेयरले चुनाव हारेको र आफूले पनि कम मत पाएको बताए। ‘निर्वाचन आयोगले धेरै बदनियत गर्‍यो। महानगर र भक्तपुरका नगरपालिकामा उम्मेदवार नभएका पार्टीको चुनाव चिन्ह हुँदैन भन्नुभयो। हामी त्यसमा लाग्यौं। सोही अनुसार प्रचार गर्‍यौं। तर, पछि सबै चिन्ह राखियो। हामी मतदाताको घरघरमा पुग्न सकेनौं,’ उनले भने, ‘अहिले मत कति बदर भए भए। त्यसको लेखोट छैन। २४ वडाध्यक्ष जितेका छौं, सबैमा वडा सदस्य जिताउनुपर्ने थियो। दुर्भाग्य धेरै ठाउँमा जिताउन सकिएन।’

आयोगले नियतवश मतपत्र तलमाथि बनाएको आचार्यको आरोप छ। ‘मतपत्र जिकज्याक भयो। तराई र अरू ठाउँमा मतपत्र चिनाजस्तो लामो थियो, हाम्रो महानगरमा मान्द्रोजस्तो मतपत्र आयो। एकातिर सूर्य, अर्कोतिर रुख राखियो। छाता रुखजस्तै देखिने गरी बनाइयो। हुन सक्नेजति भ्रम थिए,’ अघि भन्छन्, ‘त्यसको व्यवस्थापन माननीय दिनेश थपलिया ज्यूले गर्नुभयो। यसको नैतिक प्रश्न उठेको छ, संवैधानिक निकायमा बसेर मनपरी गर्न पाइन्छ कि पाइँदैन ? सरकारको ध्यानाकर्षण गराउँछु। यो प्रश्न थपलियामाथि सरकारले गर्नुपर्छ।’ आगामी चुनावमा पनि यस्तो समस्या आउन सक्ने भन्दै उनले बेलैमा विचार गर्न सरकारको ध्यानाकर्षण गराए ।

‘निर्वाचन सकिएको छ, अर्को निर्वाचन आउने वाला छ। यही रवैया रहने हो भने, संवैधानिक निकायमा बसेर भाइवन्दी गर्ने हो भने उहाँले आफैलाई प्रश्न गर्नुपर्छ,’ आचार्यले भने, ‘निर्वाचन आयोग पोखरामा पनि छ। उहाँले त्यो प्रश्न पुर्‍याइदिनुहोला। थपलिया ज्यू संवैधानिक निकायमा बसेर नैतिकता भित्र बसिदिनुस्। किनकि अहिले इतिहासमै सबैभन्दा बढी मत बदर भएको छ। तपाईंको कार्यक्षमतामाथि प्रश्न उठेको छ। यो मैले किन जोड दिएको छु भने हामीलाई पीडा छ। यदि यो समस्या थिएन भने मेयर २७ हजार मतले जितेको हुन्थ्यो। उपमेयरले १६ हजार मतले जित्नुहुन्थ्यो। २४ वडाका सबै सदस्यले जितेका हुन्थे।’

प्रतिक्रिया दिनुहोस्