चौधरी उद्योग विरुद्ध उत्रिए स्थानीय 



नवलपुर :  चौधरी उद्योगले प्रदूषण निम्त्याएको भन्दै स्थानीयवासी आन्दोलित बनेका छन् । नवलपरासीपूर्व नवलपुरको देवचुली नगरपालिकामा रहेको चौधरी उद्योग ग्रामबाट निस्कने धुलोले स्वास्थ्यसहित जनजीवनमा नै समस्या पारेको भन्दै स्थानीयवासी आन्दोलित बनेका हुन् । चौधरी गु्प्रको चौधरी गु्प्र अफ इण्डष्ट्रियल उद्यान दुम्कौलीभित्र सञ्चालनमा रहेको भुसे बोइलरबाट अध्यधिक मात्रामा खरानी निस्कने गरेको र यसले जनजीवन नै प्रभावित भएको भन्दै स्थानीयवासी आन्दोलित बनेका हुन् ।

स्थानीयवासीले उद्योगबाट निस्कने धुलो, धुँवाको उचित व्यवस्थापन गर्न उद्योगले पहल नगरेको भन्दै सोमबार उद्योग अगाडि एक घण्टा धर्नासमेत दिएका थिए ।उद्योगले धुलो, धँुवा व्यवस्थापनका लागि कुनै पहल नगर्दासम्म दैनिकरूपमा एक घण्टा उद्योग अगाडि धर्ना दिने स्थानीयवासी सुकमाया विश्वकर्माले बताइन ।

“कपडा सुकायो खरानीले पुरिन्छ, भान्सामा पकाएको खानासमेत सफा हुन पाउँदैन”, स्थानीय सुकमायाले भनिन् , “यसको नियन्त्रणका लागि उद्योगले कुनै पहल नगर्दा धेरै समस्या भएको छ ।” उद्योगबाट निस्कने खरानी धुलोले असर पुर्‍याएको भन्दै आफूहरुले उद्योग प्रशासनलाई पटक–पटक यसको व्यवस्थापनका लागि आग्रह गर्दासमेत कुनै सुनुवाइ नभएपछि आन्दोलित हुनुपरेको मिलन टोल सुधार समितिका अध्यक्ष चिनीबहादुर सुनारले बताए।

उद्योग प्रशासनसँग छलफल गर्दा अध्यधिक खरानी धुलो उड्ने समस्या समाधानका लागि पहल गर्ने मौखिक आश्वासन दिने गरेको भए पनि नियन्त्रणमा भने कुनै काम नभएको अध्यक्ष सुनारको भनाइ छ । उनीहरुले उद्योग प्रशासनले यसको व्यवस्थापनका लागि पहल नगरे थप कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

उद्योगले भने स्थानीयवासीले भनेजस्तो मापदण्डविपरीत धुलो निस्किने नगरेको बताएको छ । उद्योगका जनसम्पर्क अधिकृत रामचन्द्र धितालले स्थानीयवासीले भनेअनुसार उद्योगबाट धुलो निस्किने नगरेको बताए । 

 

प्रतिक्रिया दिनुहोस्