स्वतन्त्र उम्मेदवार बालेन्द्रको शान, अरूको ‘अपमान’ !



काठमाडौं। काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले जित सुनिश्चित गरिसकेका छन्। निर्वाचन आयोगका अनुसार गणना हुन बाँकी मतभन्दा बालेन्द्रले पाएको अग्रता बढी छ। यस अर्थमा उनी अन्तिम परिणाम नआउँदै प्रमुखमा सुनिश्चित भइसकेका छन्।

बालेन्द्र जस्ता युवा प्रत्यासीले शानदार जित निकाल्दै गर्दा यही महानगरपालिकामा यस्ता पनि स्वतन्त्र उम्मेदवार छन्, जसले अहिलेसम्म १ मत पनि पाएका छैनन् । निर्वाचनमा सवारीलगायतको सुविधा उपभोग गर्न दलहरूले नै स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने प्रचलन नौलो होइन । र, यस्ता उम्मेदवारको मत पनि कम पर्छ । तर, रोचक के छ भने, स्वतन्त्र उम्मेदवार रुचाएका काठमाडौंका मतदाताले बालेन्द्र जस्तै स्वतन्त्र उम्मेदवारलाई भने निर्वाचन परिणाम अन्तिम अवस्थामा पुग्दै गर्दासमेत १ मत पनि नदिएर ‘अपमान’ गरेका छन्।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार काठमाडौं महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका ३ जनाले अहिलेसम्म १ मत पनि पाउन सकेका छैनन् । बँदेल चिह्नबाट प्रतिस्पर्धा गरेका रोशन शाही, बिरालो चिह्नका जेठा महर्जन र भ्यागुता चिह्नबाट उठेका मनीष श्रेष्ठले अहिलेसम्म १ मत पनि पाएका छैनन् । त्यसो त १ मत ल्याउने उम्मेदवार पनि छन् काठमाडौं महानगरपालिकामा। प्लेट र कप चिह्न पाएका स्वाइप थापा र भुइँकटहर चिह्न पाएका राजन कार्कीले अहिलेसम्म १ मत पाएको निर्वाचन आयोगको तथ्याङ्कमा उल्लेख छ।

२ मत पाउने ५ जना स्वतन्त्र उम्मेदवार छन् भने १० भोट नकटाउने १२ जना प्रमुखका स्वतन्त्र उम्मेदवार छन् । नेकपा एमालेसँग मिलेर चुनाव लड्ने सम्झौता गरेको परिवार दलका उम्मेदवारले समेत ११ मत नघाउन सकेका छैनन् । प्रमुखमा उम्मेदवारी दिएका पत्रकार निमकान्त पाण्डेले समेत अहिलेसम्म १५ मत नघाउन सकेका छैनन् । प्रमुखमा उम्मेदवारी दिएका १२ वटा दलका उम्मेदवारले अहिलेसम्म ५० मत नकटाउँदा नेपाल मजदुर किसान पार्टी ११८ मतमा सीमित भएको छ। नेमकिपाले भक्तपुर नगरपालिकामा अन्य दललाई क्लिन स्विप गरेको थियो ।

काठमाडौं महानगरको प्रमुख बन्न विभिन्न दल र स्वतन्त्र गरी ५५ जनाले उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका थिए। ललितपुर महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका ६ जना स्वतन्त्र उम्मेदवारले पनि सय मत कटाउन सकेनन्। नेमकिपाका उम्मेदवारले समेत ललितपुरमा जम्मा ४३१ भोट पाए । भरतपुर महानगरपालिकाको प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएका ११ जनाले पनि सय मत कटाउन सकेनन्।

सीपी मैनाली अध्यक्ष रहेको नेकपा मालेका प्रमुखका प्रत्यासी सूर्यप्रसाद रेग्मीले समेत भरतपुरमा जम्मा १८० मत पाएका छन् । यस पार्टीले काठमाडौं महानगरपालिकामा उम्मेदवार नै उठाएन भने ललितपुर महानगरपालिकामा उम्मेदवारी दिएका मोहनराज शाक्यले जम्मा ८७ मत पाए।
वीरगंजमा बिजोक
वीरगंज महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका प्रमुखका उम्मेदवारहरूको मत परिणाम थप रोचक देखिन्छ। दलहरूले ‘डमी उम्मेदवार’ उठाएका होनन् भने यस महानगरमा ६ जना प्रमुखका प्रत्यासीको शून्य मत छ।

शून्य मत पाउनेमा फरोज अलाम, विक्कीराज पटेल, सुनिलकुमार कलवार, कैलाशप्रसाद सर्राफ, मो. सगिर अली र शत्रुघनप्रसाद कुर्मी छन् । १ मत मात्र पाउने प्रमुखका उम्मेदवारको सङ्ख्या ४ छ । सञ्जीवकुमार यादव, महम्मद हाफिज मियाँ, रिजवन अली र राजेश सिंहले १ भोट ल्याउँदा जमिल राय भाट, समसुद्दिन मियाँ, कौशिलादेवी कनोइन र राजेन्द्रप्रसाद सिंह भूमिहारले २ मत पाए।

वीरजंग महानगरपालिकामा ७ जना प्रमुखका स्वतन्त्र उम्मेदवारले ३ देखि १० भोट मात्र पाए। यहाँ २३ जनाले प्रमुख बन्न स्वतन्त्र उम्मेदवारी दिएका थिए।

प्रतिक्रिया दिनुहोस्