एमालेमा ‘अन्तर्घात’ !



काठमाडौं । निर्वाचनमा हार भए ‘अन्तर्घात’ भएको ‘निष्कर्ष’ निकाल्नमा नेपाली कांग्रेस अगाडि हुने गथ्र्यो । तर, यस पटक भने नेकपा एमालेले निर्वाचनमा अन्तर्घात भएको निष्कर्ष निकालेको छ।

३० वैशाखमा निर्वाचनमा अन्तर्घात नभए महानगरदेखि उपमहानगर हुँदै नगरपालिका, गाउँपालिकासँगै वडा तहसम्मै ‘गज्जबको’ नतिजा निकाल्न सकिने एमालेको निचोड छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा अन्तर्घात भएको भन्दै गम्भीर समीक्षा गरिने बताएका छन्। निर्वाचनको प्रारम्भिक परिणाम सार्वजनिक भएदेखि झन्डै साता दिन मौन रहेका ओलीले बुधबार पार्टी संसदीय दलको बैठकमा पार्टी महासचिव शंकर पोखरेलले निर्वाचन परिणाम एमालेको पक्षमा नपर्ने देखिएपछि लगाएका १५ बुँदे आरोपविपरीत हारको प्रमुख कारण अन्तर्घात भएको किटान गरेका हुन् । ‘उपप्रमुख जितिने र प्रमुख हारिने अवस्था आयो । यो पार्टीभित्रै देखिएको समस्या हो ।

अन्तर्घात हो र यो राम्रो होइन’, अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै पूर्वमन्त्रीसमेत रहेका सांसद वसन्तकुमार नेम्बाङले द नेपालटपसँग भने । २०५० सालमा काठमाडौंमा भएको उपनिर्वाचनमा कांग्रेसका तत्कालीन सभापतिसमेत रहेका कृष्णप्रसाद भट्टराईलाई अर्का नेता गिरिजाप्रसाद कोइरालाले असहयोग गरेर पराजित गरेपछि ‘अन्तर्घात’ शब्द नेपाली राजनीतिमा प्रयोग हुँदै आएको हो । कांग्रेसले २०७४ सालमा भएको स्थानीय तहसँगै प्रदेश र सङ्घीय संसद्को निर्वाचनमा दोस्रो शक्तिको रूपमा खुम्चिनुको कारण पार्टीकै नेताहरूबाट अन्तर्घात भएको निष्कर्ष निकालेको थियो। अन्तर्घात गरेको आरोपमा पूर्वमन्त्री गोविन्दराज जोशी, पूर्वराज्यमन्त्री पुष्करनाथ ओझालगायत कारबाहीमा परेका छन् ।

यस पटक एमाले अध्यक्ष ओलीले पनि काठमाडौं, ललितपुर, पोखरा र विराटनगर महानगरपालिकामा उपप्रमुख एमालेबाट जित्ने र प्रमुख पद हार्ने भएपछि निर्वाचनमा अन्तर्घात भएको भनेका हुन् । ४ महानगरका प्रमुखमा हार्नुको प्रमुख कारण यदि ओलीले गरेको समीक्षा सत्य भए कांग्रेसले २९ वर्षदेखि बेहोर्दै आएको अन्तर्घात एमालेमा सरेको एमालेकै नेताहरूले बताउन थालेका छन् । तीमध्येकै पर्छन्– एमाले संसदीय दलका प्रमुख सचेतकसमेत रहेका विशाल भट्टराई ।

उनले कांग्रेसमा हुँदै आएको अन्तर्घात एमालेमा पनि देखापरेको बताए। ‘पार्टी निर्वाचनमा पराजित हुनुको कारण हाम्रो पार्टीविरुद्ध ५ दलीय गठबन्धन हो । सत्ताको चरम दुरुपयोग पनि हो भने अर्कोचाहिँ पार्टीको आन्तरिक कारण र त्यसमध्येमा पनि अन्तर्घात हो । यस पटकको निर्वाचनदेखि एमालेमा अन्तर्घात देखियो’, प्रमुख सचेतक भट्टराईले बताए।

देशका ६ वटा महानगरपालिकामध्ये २०७४ सालमा भएको निर्वाचनमा एमालेले काठमाडौं र पोखरा महानगरपालिकामा प्रमुखसहित उपप्रमुख पनि जितेको थियो। यस पटक काठमाडौंमा प्रमुख पदका उम्मेदवार केशव स्थापित पराजित भएको घोषणा हुन मात्र बाँकी छ। तर, उपप्रमुखमा भने एमालेकै सुनिता डङ्गोल निर्वाचित भइसकेकी छन् । आधिकारिक रूपमा घोषणा हुन भने बाँकी छ। पोखरामा पनि उपप्रमुख पदकी उम्मेदवार मञ्जु गुरुङ लोकप्रिय मतसहित निर्वाचित हुँदा प्रमुख पदका उम्मेदवार कृष्ण थापा पराजित भएका छन्। विराटनगर महानगरपालिकामा प्रमुख पदका एमाले उम्मेदवार सागर थापा पराजित हुँदा उपप्रमुख पदकी उम्मेदवार शिल्पा कार्की सत्ता गठबन्धनका उम्मेदवार अमरेन्द्र यादवलाई ११ हजार मतान्तरले पराजित गर्दै निर्वाचित भइन्।

ललितपुर महानगरपालिकामा प्रमुख पदका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकार पराजित हुँदा उपप्रमुख पदमा भने एमालेकै मञ्जली शाक्य करिब ७ हजार मतान्तरले निर्वाचित भइन् । प्रमुख सचेतक भट्टराईले यसरी उपप्रमुख पदका उम्मेदवारले जित्नु र प्रमुख पदका उम्मेदवारले हार्नुका थुप्रै कारकमध्ये अन्तर्घातलाई मान्न सकिने बताए । ‘उम्मेदवार चयन, कतिपय उम्मेदवार चयनप्रति पार्टीकै नेता, कार्यकर्ताहरूबाट भएको असन्तुष्टि र असन्तुष्टिका कारण भएको असहयोग, त्यसलाई हामीले अन्तर्घात भनेका हौँ’, भट्टराई भन्छन् । उसो त एमालेलाई कठोर अनुशासन र व्यवस्थित साङ्गठनिक सूत्रमा बाँधिएको पार्टी भनिँदै आएको छ। यसअघि अन्तर्घात भएको शब्दसम्म एमालेमा सुनिएको थिएन ।

यस पटक भने महानगरको नतिजालाई आधार मानेर अन्तर्घात भएको अध्यक्ष ओलीले नै टिप्पणी गरेका हुन् । हुनत निर्वाचनको पूर्वसन्ध्यामा एमालेका नेता, कार्यकर्ताहरूले एउटा ‘पोस्टकार्ड’ सर्वाधिक शेयर गरेका थिए, जहाँ लेखिएको थियो– ‘टिकट पाए जितेर देखाउँछु । नपाए जिताएर देखाउँछु ।’ निर्वाचनमा आकाङ्क्षीहरू बढी देखिएपछि पोस्टकार्डमा यस्तो भनाइ राखेर टिकट पाए जित्नेगरी तयारी गर्ने र नपाएको अवस्थामा टिकट पाउनेलाई सक्दो सहयोग गर्ने भनिएको हो ।

निर्वाचनको परिणाम आइसक्ने बेला भने पार्टी हारको कारणमध्येमा अन्तर्घातलाई पनि मानिनुलाई पोस्टकार्डमा भनिए जसरी निर्वाचनमा हार्दिकतापूर्ण ढङ्गले उम्मेदवारलाई पार्टीकै कतिपय नेता, कार्यकर्ताहरूले सहयोग नगरेको निष्कर्षमा एमाले पुगेको देखिएको हो ।

एमालेले निर्वाचनअघि यस पटक ६० देखि ६५ प्रतिशत सिटमा जित्ने दाबी गरेको थियो। ३० वैशाख गठबन्धनको लुतो देशबाट फालिने अध्यक्ष ओलीले नै अभिव्यक्ति दिएका थिए । तर, २०५ स्थानमा प्रमुख/अध्यक्ष जितेर एमाले करिब २८ प्रतिशतमा खुम्चिने देखिएको छ। एमालेले अघिल्लो पटक २९४ स्थानीय तह अर्थात् करिब ४० प्रतिशत जित निकालेको थियो । यस पटक कांग्रेस ३२९ वटा स्थानीय तह जितेर ४४ प्रतिशत जित निकाल्ने अवस्थामा पुगेको छ।

प्रतिक्रिया दिनुहोस्