जनक शिक्षाको लापरबाहीले विद्यार्थीको भविष्य अन्योलमा



  • मनोज माझी

सप्तरी । नयाँ शैक्षिक सत्र सुरु भएको ११ दिनभन्दा बढी भइसक्यो तर प्रत्येक वर्ष जस्तै जिल्लाका विद्यार्थीको हातमा पुस्तक पुग्न सकेको छैन । पाठ्यपुस्तक अभावमा जिल्लाका १ लाखभन्दा बढी विद्यार्थीको पढाइ प्रभावित बनेको छ।

जिल्लामा ५१३ वटा सामुदायिक तथा १७७ वटा निजी विद्यालय छन् । सामुदायिकतर्फ १ देखि १० कक्षासम्म १ लाख ७०६ तथा निजी विद्यालयतर्फ ३४ हजार ६२९ जना विद्यार्थी छन् । त्यसमध्ये बुधबारसम्ममा १५ प्रतिशतसम्म पनि विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन् । किताब खोज्दै दिनहँ पुस्तक पसलमा शिक्षक, विद्यार्थी र उनका अभिभावक पुग्ने गरेका छन् तर पुस्तक नपाउँदा हैरान छन् ।

स्थानीय अभिभावक ललित रजकले भने, ‘पुस्तक पसलले जहिले पनि १–२ दिनमा आउँछ भन्छन् तर २ दिनपछि जाँदा पनि त्यही कुरा दोहोर्‍याउँछन् ।’ ‘शिक्षा मन्त्रालयले जेठ पहिलो सातादेखि नयाँ शैक्षिक सत्रको पठनपाठन तीब्र गतिमा थाल्न निर्देशन दिएको छ’,राजविराज– ४ स्थित केन्द्र नम्बर– ६ आधारभूत विद्यालयका एक शिक्षक प्रश्न गर्छन्, ‘किताब नपाउँदा कसरी पढाइलाई गति दिने ?’ किताब खोज्दै पसलमा दैनिक सयौँको सङ्ख्यामा शिक्षक, विद्यार्थी र अभिभावक आउँछन्। राजविराज– ४ स्थित सञ्जय पुस्तक भण्डारका सञ्चालक रवि साह भन्छन्, ‘जनक शिक्षा समग्री केन्द्रको लापरबाहीले यसपल्ट पनि विद्यार्थीले समयमै पुस्तक हातमा पार्ने सम्भावना छैन।’

राजविराजमा जनक शिक्षा समग्री केन्द्रको शाखा पनि छैन। कक्षा १ देखि १० सम्मको पाठ्यपुस्तक ल्याउन उक्त केन्द्रको शाखा रहेको विराटनगर र जनकपुर पुग्नुपर्ने अवस्था छ। स्थानीय ॐ पुस्तक पसलका सञ्चालक नरेन्द्र दास भन्छन्, ‘त्यसमा पनि पूरा सेटमा पुस्तक दिँदैनन् ।’ एकातिर थोरै कमिसन, अर्काेतिर पूरा सेट पुस्तक नहुँदा ढुवानी र अन्य खर्च मात्र बढी लाग्ने भएकाले अधिकांश पुस्तक पसलेले जनक शिक्षा सामग्री केन्द्रको बिक्री डिपोबाट पुस्तक ल्याउन सकेका छैनन्।विद्यालयस्तरका पुस्तक बिक्री गर्ने जिल्लामा करिब १२० वटा पुस्तक पसल छन्।

सबैले जनक शिक्षा सामग्री केन्द्रबाट आवश्यकताअनुसारको पुस्तक उपलब्ध हुन नसकेको बताउने गरेका छन् । सरकारले कक्षा १० सम्म सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुःल्क पाठ्यपुस्तक उपलब्ध गराउने भनेको छ । स्थानीय अभिभावक चन्दन यादवले भने, ‘तर, यहाँ त शुल्क तिरेर पनि पाइँदैन।’ पाठ्यक्रम र पाठ्यपुस्तक छपाइ र आपूर्ति गर्ने उद्देश्यले स्थापित जनक शिक्षा समग्री केन्द्रको लापरबाहीका कारण प्रत्येक वर्ष विद्यार्थीले यस्तो समस्या भोग्नुपरिरहेको विद्यार्थी र अभिभावकहरूको गुनासो छ।

अभिभाक संघका पूर्वअध्यक्ष राधेश्याम रमण भन्छन्, ‘आफ्नो कमी कमजोरी सच्याउनुको साटो केन्द्रले प्रत्येक वर्ष पुस्तक अभावबारे नयाँनयाँ बहाना मात्र देखाउँछ।’ उनले सधैँको यो रोग उन्मूलन गर्न जनक शिक्षा समग्री केन्द्रलाई पाठ्यपुस्तक छपाइको जिम्मेवारीबाट मुक्त गर्नुपर्ने मागसमेत गरे। जिल्ला शिक्षा तथा समन्वय इकाई शाखा सप्तरीका प्रमुख विजय मण्डलले जिल्लामा पाठ्यपुस्तक अभावबारे आफूकहाँ पनि गुनासो आएको भन्दै यसबारे आफूले सम्बन्धित निकायमा पहल थालिसकेको बताए। कोरोनाले चौपट बन्दै गएको सप्तरीको शिक्षा क्षेत्र पुस्तक अभावले थप चौपट बनाउने भन्दै स्थानीय शिक्षक, विद्यार्थी तथा अभिभावकले यसतर्फ अविलम्ब सरकारले ध्यान दिनुपर्ने माग गरेका छन् ।

जनक शिक्षा भन्छः असारसम्म कुरौँ
जनक शिक्षा सामग्री केन्द्रका अनिलकुमार झाले असारको पहिलो साता मात्र पाठ्यपुस्तक छपाइ सकिने बताएका छन्।संसद्को शिक्षा तथा स्वास्थ्य समितिको छलफलमा उपस्थित झाले स्थानीय तह निर्वाचन, रुस–युक्रेन युद्ध, सार्वजनिक खरिद ऐनमा भएको झन्झटिलो प्रक्रियालगायतका कारण देखाउँदै असारको पहिलो सातामा मात्र छपाइ सक्ने बताए।

उनको प्रतिबद्धताअनुसार छपाए भए विद्यार्थीले साउनमा मात्र किताब हातमा पाउनेछन्। ढुवानीलगायतको समस्याका कारण विद्यार्थीले किताब नपाउने अवस्था देखिएपछि समितिले चाँडो छपाइ पूरा गर्न निर्देशन दियो। समितिको छलफलमा सांसदहरूले विद्यार्थीलाई किताब दिन नसक्नु राष्ट्रिय लज्जा भएको बताए पनि समयमै छाप्न के गर्नुपर्छ भन्ने निष्कर्ष भने निकाल्न सकेनन् ।

प्रतिक्रिया दिनुहोस्