मुख्यमन्त्री शेरधन राईका सहयोगीद्वारा अमेरिकामा पत्रकार कुटिए



काठमाडौं : समाचार लेखेको विषयलाई लिएर प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका मुख्य सहयोगी पारुहाङ राईका सोल्टी नाता पर्ने उमेश राईले शुक्रबार न्यूयोर्कमा पत्रकार लोकमणि राईलाई कुटेका छन् ।

तिहारको एक कार्यक्रम चल्दै गर्दा एक परिचितले पत्रकार राईलाई एकछिन बाहिर हिड भन्दै कार्यक्रमस्थल बाहिर लगेर कुटपिट गरिएको बताइएको छ । उमेशले बाहिर लगेर मनपरी गाली गलौज गर्दै मुख्यमन्त्रीको विषयमा जेपायो त्यही लेख्ने पत्रकार तैहोस भन्दै पत्रकार राईको अनुहारमा मुक्का हानेका थिए । घाइते पत्रकार राईलाई लगत्तै एम्बुलेन्स मार्फत स्थानीय एलमहर्स्ट हस्पिटलको इमरजेन्सीमा भर्ना गरिएको थियो । ६ घण्टापछि राईलाई डिस्चार्ज गरिएको छ ।

कुटपिट गरिएको मेडिकल परीक्षणको प्रमाण सहित आक्रमणकारी विरुद्ध प्रहरीमा उजुरी गरेको पत्रकार राइले बताएका छन् । अमेरिकामा हातपातको घटनालाई गम्भीर मानिन्छ र सोही अनुरुप कानुनी दण्डको व्यवस्था छ ।

प्रहरीमा उजुरी र कानुनी प्रक्रियामा गएपछि पत्रकार राईलाई बिवाद मिलाउनुपर्छ भन्दै दवाब आइरहेको बताइएको छ । पत्रकार राईले नागरिकन्युजसँग कुरा गर्दै कुटपिट गर्नेहरुदेखि समुदायका केही मानिसहरुबाट मिल्नुपर्छ भन्दै दवाब आइरहेको बताए । उनले उक्त दवाबले आफुलाई  निकै तनाव भएको बताएका छन् ।

राईमाथी भएको कुटपिटको सर्वत्र विरोध भइरहेको छ । अमेरिकामा रहेका नेपाली पत्रकारहरुको संस्था नेजा र इन्जाले घटनाको भत्सना गरिएका छन् । नेजाका महासचिव किरण मरहट्ठाले समाचारको विषयलाई लिएर अमेरिकामा पत्रकार कुटिनु गम्भीर एवम् निन्दनीय भएको बताए । ईन्जाका महासचिब शिव विष्टले पत्रकार कुटिएको घटनाको जति निन्दा गरेपनि कम हुने भन्दै दोषीमाथी कडा कारबाहीको माग गरेका छन् ।

स्थानीय बिआरटी डमकम नामक न्युज पोर्टलमा पत्रकार राईले मुख्यमन्त्री राई थाइल्याण्डबाट अमेरिका आएको र बिवादास्पद केही संस्था एवम् व्यक्तिहरुले अमेरिकामा स्वागत कार्यक्रम गरेको समाचार लेखेका थिए । समाचारमा राष्ट्रसंघको महासभाको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधको प्रसंग उल्लेख गर्दै तीनै विरोधीहरु अहिले मुख्यमन्त्री राईको स्वागतमा लागिपरेको भन्दै दोहोरो भूमिका देखाएको भन्ने संज्ञा दिइएको विषयको समाचारलाई लिएर बिवाद भएको बताइएको छ । समाचारको विषयलार्य लिएर अमेरिकामा नेपाली पत्रकार कुटिएको संभवत यो पहिलो घटना हो ।

प्रतिक्रिया दिनुहोस्