जनकपुरका नवनिर्वाचित जनप्रतिनिधिले लिए शपथ, एमालेद्वारा बहिष्कार



जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।
उपमहानगरपालिकाका नवनिर्वाचित उपप्रमुख, वडाध्यक्षहरुका साथै वडा सदस्यहरुले शपथ ग्रहण गरेका हुन । नवनिर्वाचित जनप्रतिनिधिहरुलाइ जनकपुरधाम उपमहानगरका प्रमुख मनोज साहले शपथ ग्रहण गराएका हुन् । यता एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले भने शपथ ग्रहण कार्यक्रममा सहभागिता जनाएका छैनन ।
सपथ ग्रहण कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई बनाइएपछि उनीहरूले सपथ ग्रहण कार्यक्रम बहिष्कार गरेका हुन् । एमालेबाट निर्वाचित ७ जना वडाध्यक्ष सहित वडा सदस्य गरि ३६ जनप्रतिनिधि शपथ ग्रहणमा सहभागी भएनन् ।

शपथ ग्रहण कार्यक्रमको प्रमुख अतिथी निधि हुन् भने विशेष अतिथी समेत कांग्रेसकै मधेश प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादव हुन् ।

जनकपुरधामको नगरप्रमुखमा स्वतन्त्र भएर निर्वाचित भएका नगर प्रमुख मनोज साहले पार्टी विशेषको व्यक्तिलाई प्रमुख अतिथी बनाएकाले आफुहरु शपथ ग्रहण कार्यक्रममा सहभागी नभएको एमालेबाट जनकपुरधाम १२ मा निर्वाचित वडाध्यक्ष उपेन्द्र सहनीले बताएका छन् ।

आफुहरुका अलग्गै सपथ ग्रहण कार्यक्रम राख्ने विषयमा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्न उपाध्यायसँग समेत कुराकानी भएको एमालेबाट निर्वाचित वडा नम्बर ८का वडाध्यक्ष दिनेश सिंहले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्