गृहमन्त्रीको वडामा कांग्रेस ‘क्लिन स्वीप’



बुटवल । गृहमन्त्री बालकृष्ण खाणको वडामा कांग्रेस पराजित भएको छ। नेपाली कांग्रेसका नेतासमेत रहेका खाणको वडामा एमालेले ‘क्लिन स्वीप’ गरेको हो। कांग्रेस उम्मेदवारलाई पराजित गर्दै एमालेको उक्त वडामा निर्वाचित भएको छ।

तिलोत्तमा नगरपालिकामा गृहमन्त्रीका भाइ रामकृष्ण खाण नगर प्रमुख पदका उम्मेदवार छन्। उनको समेत घर रहेको वडा नम्बर ८ मा कांग्रेस पराजित भएको हो।

तिलोत्तमा नगरपालिकाको वडा नम्बर–८ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र जनमोर्चा समेतको गठबन्धनलाई हराउँदै नेकपा एमालेका उम्मेदवार कृष्ण पौडेल १८९ मतान्तरका साथ विजयी भएका छन्।

पौडेल २०७४ सालको स्थानीय तह निर्वाचनमा समेत नेपाली कांग्रेसका नगर सभापति हरिलाल पाण्डेलाई ५०७ मतको अन्तरले पराजित गरी वडाध्यक्ष निर्वाचित भएका थिए।

यो वडामा तीन हजार ४६८ मत खसेको थियो। वडाध्यक्षमा नेकपा एमालेका कृष्ण प्रसाद पौडेलले एक हजार ६१५ मत पाएर विजयी हुँदा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका केशवराज अर्यालले १ हजार ४२६ मत पाए।

त्यसैगरी नेकपा एमालेका उम्मेदवारहरू महिला सदस्य कमला पराजुली, दलित महिला सदस्यमा सावित्रा दमाई र खुल्ला सदस्यमा कमलकान्त गौतम र खुमबहादुर खासु विजयी भएका छन्।

प्रतिक्रिया दिनुहोस्