स्थानीय तह निर्वाचन : १४ हजार ४०२ महिला निर्वाचित



काठमाडौं । स्थानीय तह निर्वाचनमा १४ हजार ४०२ महिला निर्वाचित भएका छन् ।

हालसम्म परिणाम सार्वजनिक भएका पालिकाको अन्तिम मतपरिणामका आधारमा निर्विरोधसहित उक्त सङ्ख्यामा महिला निर्वाचित भएका हुन् । सो आँकडाका आधारमा ४० दशमलव ८९ प्रतिशत हुन्छ । निर्वाचनमा ५५ हजार ६९९ महिला उम्मेदवार रहेका थिए । कूल ७५३ स्थानीय तहमा ३५ हजार २२१ पद रहेका छन् ।

निर्वाचन आयोगको सूचना प्रणालीमा आज साँझसम्म प्रविष्ट भएको परिणामअनुसार तीन वटा पालिकामा प्रमुख र उपप्रमुख दुवै जना महिला निर्वाचित भएका छन् । सोमध्ये झापाको गौरीगञ्ज गाउँपालिका प्रमुखमा फूलवती राजवंशी र उपप्रमुखमा पुजन न्यौपाने कुँवर निर्वाचित भएकी छन् । राजवंशी नेपाली कांग्रेस र न्यौपाने नेकपा (एमाले) बाट उम्मेदवार बनेका थिए ।

दैलेखको भैरवी गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा महिला निर्वाचित भएका छन् । सो पालिकाको प्रमुखमा रिता शाही र उपप्रमुखमा देवी भण्डारी निर्वाचित भएका छन् । दुवै जना कांग्रेसबाट निर्वाचित भएका हुन् ।

कैलालीको लम्की–चुहा नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा महिला निर्वाचित भएका छन् । सो नगरपालिका प्रमुखमा सुशीला शाही र उपप्रमुख पदमा जुना चौधरी निर्वाचित भएका हुन् । प्रमुख कांग्रेसबाट र उपप्रमुख एमालेबाट उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्