विदेशबाट फर्किएर कृषि र पशुपालनमा



दमौली : विदेशमा बगाएको पसिना स्वदेशमै बगाउन सके त्यहाँ जत्तिकै आम्दानी गर्न सकिने सोचका साथ तनहुँको भीमाद नगरपालिका–५ बुडुफाँटका कृष्णप्रसाद गैरे पाँच वर्ष अगाडि नेपाल फर्केका थिए । 

 

छ वर्ष नौ महीना कतार बस्नुभएका गैरे विसं २०७० मा स्वदेश फर्किएर व्यावसायिक कृषि र पशुपालनमा आबद्ध हुनुभएको छ । गैरेले तरकारीखेती र पशुपालनबाट वार्षिक रु सात लाखभन्दा बढी आम्दानी गरिरहनुभएको छ । 

 

‘विदेशमा काम गर्दा जति दुःख गरियो त्यति दुःख त स्वदेशमै गरेपनि आम्दानी गर्न सकिन्छ भन्ने लाग्यो,’ उहाँले भन्नुभयो, ‘अनि आफ्नै गाउँ आएर तरकारीखेती शुरु गरेँ ।’ तरकारीखेतीबाटै गैरेले वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी गर्न सफल हुनुभएको छ । 

 

तरकारीखेतीसँगै पशुपालनसमेत गर्नुभएका गैरेले भैँसीको दूध बिक्रीबाट वार्षिक रु दुई लाखभन्दा बढी आम्दानी हुने गरेको बताउनुभयो । उहाँका अनुसार दैनिक २० माना दूध बिक्री हुने गरेको छ । तरकारी र दूध बिक्रीका लागि बजारको कुनै समस्या नरहेको उहाँले बताए । 

युवा अभावमा धान काट्न समस्या 

तनहुँको व्यास नगरपालिका–८ रिस्तीका पुरुषोत्तम रेग्मी गाउँमा युवा नहुँदा धान काट्न समस्या भएको प्रति चिन्तित हुनुहुन्छ । गाउँमा काम गर्ने युवा नहुँदा भनेको दिनमा धान काट्न नपाएको र खेतमै धान झरेर जाने समस्या रहेको उहाँ बताउनुहुन्छ । 

 

युवाहरु वैदेशिक रोजगारीको सिलसिलामा विदेशिनु र गाउँमा अधिकांशको घरमा वृद्ध आमाबाबु मात्रै रहेका कारण धान काट्न समस्या भएको उहाँको भनाइ छ । सोही ठाउँकै रामप्रसाद मिश्रले समेत गाउँमा युवा नहुँदा धान काट्न समस्या भएको गुनासो गर्नुभयो । अधिकांश युवा वैदेशिक रोजगारका लागि विदेश र अध्ययनका लागि शहरबजार झरेपछि गाउँमा धान काट्न समस्या भएको हो, उनले बताए  । 

प्रतिक्रिया दिनुहोस्