छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु



काठमाडौं । बर्दिया, दाङ, पर्सा र नवलपरासी (पूर्व)मा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ। बर्दियाको गुलरिया नगरपालिका–११ डल्लापुरमा बा.१ ञ १९०३ नम्बरको गाडीको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही नगरपालिका–११ बस्ने संजय यादवको छोरा लवकुश यादव रहेका छन् । उनको बिहीबार घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दाङको घोराही उपमहानगरपालिका–१० गुर्जेस्थित सडकमा रा.१ क ४७३ नम्बरको मिनी ट्रकले रा.५ प १५३ नम्बरको मोटरसाइकललाई बिहीबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक सोही उपमहानगरपालिका–१८ बस्ने २४ वर्षीय भाग कुमार पुन रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका पुनको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पर्साको पर्सागढी नगरपालिका–४ भेडिया खोलास्थित सडकमा ना.६ त १७५९ नम्बरको ट्रयाक्टर बिहीबार दिउँसो दुर्घटना एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्रयाक्टरमा सवार सोही ठाउँ बस्ने ११ वर्षीय सफराज देवान रहेका छन्। नवलपरासी बर्दघाट सुस्ता पुर्व हुप्सेकोट गाउँपालिका–६ जवडाँडामा गएराती जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय २६ वर्षीय महेन्द्र ढेंगा मगर रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा भरतपुर स्थित सरकारी अस्पतालमा मृत्यु भएको हो । पैदल हिडिरहेका मगरलाई गएराती साढे १२ बजे लु १ ज २२७२ नम्बरको जिपले ठक्कर दिएको प्रहरी चौकी हुप्सेकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्