‘अहिलेका नेताले काम गर्न सकेनन्, लेखेर राख्नुस्– राजसंस्था र हिन्दु राष्ट्र फर्किन्छ’



जनकपुरमा पूर्व मेयर राजदेव मिश्रलाई नचिन्ने व्यक्ति सायदै होलान् । उनलाई सबैले बाबा नामले चिन्छन् । यस क्षेत्रमा इमानदार नेताको छवी बनाएका ७८  वर्षीय बाबालाई स्थानीयले श्रद्धा र सम्मानका नजरले हेर्ने गरेका छन् । 

तत्कालिन जनकपुर नगरपालिकाको मेयरका रुपमा उनले तीन महिनामा गरेका कामको अझै पनि तारिफ हुने गरेको छ । विभिन्न सार्वजनिक कार्याक्रममा भाषण गर्न पुगेका दलका नेता तथा स्थानीय समाजसेवीले उनको कामलाई आफ्नो भाषणको अंश बनाउने गरेका छन् । 

मिश्र निडर नेता र स्पस्ट वक्ताको रुपमा पनि चिनिन्छन् । वाम मजदूर नेताका रुपमा राजनीतिक यात्रा सुरु गरेका मिश्रसँग पञ्चायत कालमा वडाध्यक्ष र सुधारिएको पञ्चायतकालमा उप–प्रधान पञ्चको रुपमा पाँच–पाँच वर्ष काम गरेको अनुभव छ भने पूर्व राजा ज्ञानेन्द्र साहको शासनकालको अन्तिम समयताका जनकपुरको मेयरमा निर्वाचित भएर ३ महीना काम गरेका थिए । 

मिश्र अहिले धर्म–संस्कृतिको रक्षामा सक्रिय छन् । यिनै मिश्रसँग द नेपाल टप का जनकपुर सहकर्मी घनश्याम मिश्रले पछिल्लो राजनीतिक घटनाक्रम र जनकपुरको समसामयीक विषयकस्तुका बारेमा कुराकानी गरेका छन्ः

आज भोली के मा व्यस्त हुनुहुन्छ ? 

मेरो धेरैजसो समय पूजा पाठमा नै वित्ने गरेको छ । त्यो बाहेक बिभिन्न सामाजिक कार्यमा पनि सक्रिय भइरहेको छु । अब छठपछि जनकपुरलाई मदिरा मुक्त बनाउने अभियान सुरु गर्ने योजना बनाएको छु, त्यसका लागि अदालतको पनि सहयोग निले बिचार छ ।

अहिलेका मेयर लालकिशोर साहको कार्यशैलीलाई कसरी हेरिरहनु भएको छ ? 

लालकिशोर जनप्रतिनिधि कम हाकिम बढ़ी हुनुहुन्छ । जनप्रतिनिधि लोकप्रिय हुन्छ तर उहाँ आफ्नै कारणले अलोकप्रिय भईरहनुभएको छ । जुन कुरा जनकपुर नगरको लागि दुर्भाग्य हो । कार्यालयमा जनतालाई भेट्न समय नहुने, कुर्थामा विद्यालय ताडफोड भएको विषयमा केहि नबोल्ने जस्ता कार्यले उहाँलाई राम्रो भन्ने आधार घट्दै गएको छ । मेयर साहले अहिले कसैलाई काखा कसैलाई पाखा गर्दै छन् ।

जनकपुर अब कस्तो हुने देख्नुहुन्छ ? 

कस्तो हुन्छ ! राम्रो गरे राम्रो हुने, नराम्रो गरे नराम्रो हुने पक्का छ, जनकपुरलाई राम्रो नगर बनाउन राजनीतिक दलका साथै स्थानीयवासी पनि इमानदार हुनुपर्छ । यी दुई पक्ष इमानदार भए भने जनकपुरको विकास पक्का छ, अन्यथा गाह्रो छ । 

आधुनिक जनकपुर निर्माणमा क कसको कस्तो भूमिका रहेको थियो ? 

मौनी बाबा, सुर किशोर दास, नवल किशोर दास, स्व. डा. जेवल्लव दास, स्व. मकेस्वर बाबू, स्व. राम स्वरूप, राम सागर, रामरति देवीजस्ता व्यक्तिहरु कै देन हो आजको आधुनिक जनकपुरधाम, जहाँ हामी छौं । तर दुर्भाग्य, आजभोलिका नेताहरुले सबै सखाप पर्दै छन्, बचाउन सकेका छैनन् । बाह्र विघा गाछी, परिक्रमा सड़कको गाछी र पुराना विद्यालय सबै बर्दाद पारे अहिलेका नेताहरुले । 

जनकपुरलाई राम्रो बनाउन के गर्नु पर्छ ?

मुख्य कुरो, जनता जागरुक हुनुपर्छ, ईमानदार नेतृत्व छान्नु पर्छ, मेयर देखी वडा सदस्यसम्म सज्जन व्यक्तिलाई जिताउनुपर्छ र काम गर्न दवाव दिनुपर्छ । अनि मात्र जनकपुर राम्रो हुन्छ । यो सबै जनतामा निर्भर हुने कुरा हो । 

वर्तमान राजनीतिलाई कसरी हेरिरहनुभएको छ ? 

अहिले राजनीति नै छैन गुटनीति छ, बिभिन्न गुट र उपगुटहरु देश लुट्न मात्र व्यस्त छ । देश र जनताको भवना अनुकूल काम गर्ने राज नेता को छ, भन्नुस त ? सबै पैसा खर्च गरेर चुनाव जित्छन् र पछि लागानी असूल उपर गर्न व्यस्त हुन्छन् । चुनावको समय बाहेक नेतालाई जनता चाहिएकै छैन । 

अहिलेका नेताहरु मध्ये को मन पर्छ ?

गम्भिर प्रश्न गर्नु भो, कुन लाई ठीक र कुनलाई गलत भन्ने कठिन छ तर पनि नेपाली कांग्रेसको प्रदीप गिरी, बिमलेन्द्र निधि अहिले मलाइ मन पर्छ । पहिलेको सूर्य बहादुर थापा, भोला यादव र मकेस्वर सिंह नेता जस्ता थिए ।

यहाँलाई के लाग्छ, नेपालमा राजसंस्था र हिन्दु राष्ट्र फर्किन सम्भव छ ? 

राजा र राज संस्था समाप्त हुनुमा दरबारकै नजिकका पात्रहरु को हात छ । त्यसबारे जनताको निर्णय अन्तिम निर्णय हुनु पर्ने हो, तर यहाँ केहि व्यक्तिको निर्णयमा सबै भयो । अर्को कुरा, नेपाल हिन्दू राष्ट्र पहिले पनि थियो अहिले पनि छ, कसैले डलर खाएर धर्म निरपेक्ष घोषणा गरेर हुन्न । धेरै छिटो पुनः नेपाल हिन्दू राष्ट्र घोषणा हुन्छ भन्नेमा म विश्वस्त छु । म रहुँला–नरहूँला, तर हिन्दू राष्ट्र नेपाल हुन्छ लेखेर राख्नुस् ।

अन्त्यमा केहि भन्नु छ ?

जनकपुरलाई जनकपुरधाम बनाउंन परिक्रमा क्षेत्रभित्र मदिरा जन्य पदार्थको विक्री वितरण बन्द गरिनु पर्छ र माछा मासु बन्द गÞरी धार्मिक स्थान बनाउनुपर्छ । भोजराज घिमिरेको प्रतिवेदन अक्षरसः पालना हुनु पर्छ  । त्यसपछि गूठी र कुटीको सार्वजनिक सम्पति नेता, कर्मचारी र मन्दिरका महन्थले बेचेको बारे पनि प्रश्न उठाउनुपर्ने छ । अहिलेको नेतृत्व तहमा रहेका नेता र मंन्त्री ले केहि गर्ला जस्तो देखिएको छैन । त्यसैले म अदालत जान्छु  र अदालतको साहारा लिएर जनकपुरलाई मासु तथा मदिरा मुक्त सहर बनाउन अगाडि बढ्छु । यसमा स्थानीयको साथ रसहयोग पाउनेमा म ढुक्क छु ।

प्रतिक्रिया दिनुहोस्