औँठा छापको रबर स्ट्याम्प बनाएर ठगी



  • विशाल बस्नेत

महोत्तरी । मंगलबार रौतहट गरुडा नगरपालिका–१ का राजा सहनी यतिवेला परिवारसहित बर्दिबासमा छन्। सहनीको न आफ्नो जग्गा जमिन छ, न त बास नै । भएको डेढ बिघा जग्गा र घरघडेरीसमेत अदालतले रोक्का गरेपछि सहनीको आश्रय सडक बनेको छ। यही विषयमा गुनासो गर्न सहनी २ छोरीसहित बर्दिबासस्थित मधेस प्रदेशको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला कार्यालयमा आइपुगेका हुन् ।

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले सक्कली र नक्कली औँठा छापमा फरक छुट्याउन नसक्दा सम्पत्ति रोक्का भएर सडकमा पुगेपछि उनी यो कार्यालयसाग हारगुहार गरिरहेका छन् । विधि विज्ञान प्रयोगशालाले औठाछाप सक्कली हो या नक्कली भन्ने राय दिन नसकेपछि १२ पुस २०७८ मा रौतहट जिल्ला अदालतका न्यायाधीश केशर पाण्डेको इजलासले सहनीको सम्पत्ति रोक्का राख्ने फैसला गरिदियो।

आफ्नै दाजुको बद्नियतबाट पीडित भएर प्रयोगशाला हुँदै अदालत पुगेको एउटा केशमा दोस्रो पटकको प्रयासमा आफ्नै दाजु भाइलाई घरवारबिहीन बनाउन सफल भए । आखिर के थियो त घटना ?

के भएको थियो ?
राजा सहनीका दीपलाल सहनी आफ्नै काका हुन् । तर, दीपलालका छोरा रामचन्द्र सहनी नै पीडित राजा सहनीका लागि अभिसाप बनेका छन् । रामचन्द्रका एक छोरा र एक छोरी छन् । छोरी ललितादेवी र छोरा त्रिलोकचन्द्र सहनी नै अहिले राजा सहनीका दुःखका मुख्य कारक बनेका छन् ।

राजा सहनीका २ जना छोरीलाई अंश दिने तर सम्पत्ति केही नपाइने चिन्ताले रामचन्द्रले जालझेल गरेर सम्पत्ति आफ्नो बनाउन लागिपरेको राजा सहनीको आरोप छ । रामचन्द्रकै सेटिङमा छोरी ललितादेवीको नामबाट राजालाई पहिलोपल्ट २०७० सालमा ३ लाख रुपैयाँ दिएको र पैसा नदिएको आरोपमा रौतहट जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।

राजाले उनीहरूले बनाएको तमसुकको प्रतिलिपी देखाउँदै भने, ‘यस तमसुकको विषयमा मलाई थाहा नै थिएन अनि मैले औँठा छाप पनि गरेको थिइनँ ।’ रौतहट जिल्ला अदालतले राजा सहनीकै औँठा छाप भएको प्रमाणित गर्न नसकेपछि राजाकै पक्षमा फैसला सुनायो । रामचन्द्र सहनीको ३ लाख रुपैयाँ पाउने अभिलासा अदालतले बन्द त गरिदियो तर रामचन्द्रको जालझेलले भने निरन्तरता पाई नै रह्यो ।‘यसबीचमा पनि रामचन्द्रले धम्क्याउन र सम्पत्ति आफ्नो नाममा गरिदिन पटकपटक फोन गरेर मलाई दुःख दिई नै रहे’, पीडित सहनीले द नेपालटपसँग भने ।

राजा सहनीले अस्वीकार गरेपछि रामचन्द्र अर्को जालझेलमा लागे । अघिल्लो मुद्धाका क्रममा अदालतलाई दिएको नमुना औँठा छाप अदालतकै लेखनदासको माध्यमबाट दाजुले फुत्काए। पीडित सहनीले दिएको सो नमूना औँठा छाप स्क्यान गरे रामचन्द्रले । स्क्यान कपी बोकेर भारतको पटना पुगे । ‘जहाँबाट नमूना औठाछापको रबर स्ट्याम्प बनाएर नेपाल फर्किएर जाली तमसुक बनाएर त्यही छाप प्रयोग गरेर अर्को लेनदेनको मुद्धा दर्ता गराए,’ सहनीका छिमेकी देवेन्द्र साह भन्छन्। भारतको पटना पुगेर राजाको औँठा छापको रबर स्ट्याम्प बनाएपछि रामचन्द्रले ६ जेठ २०७० मा दोस्रोपल्ट छोरा त्रिलोकचन्द्र सहनीको नामबाट ३७ लाख रुपैयाँ लिएकोे नक्कली कागज बनाए। कागजमा रबर स्ट्याम्प बनाएर ल्याएको औठाछाप हाने र अदालतमा मुद्धा दायर गरे।

पीडित सहनीका अनुसार थाहै नदिइ नक्की छाप बनाएर लेनदेनको मुद्धा दायर गरेपछि यो विवाद विधि विज्ञान प्रयोगशाला पुग्यो । तर प्रयोगशालाले यो छाप नक्कली हो या सक्कली भनेर राय दिनै सकेन । प्रयोगशालाले राय दिन नसकेकै आधारमा जिल्ला अदालतले लेनदेन मुद्धामा उनको भएभरको जेथा रोक्का राखिदियो। ‘अघिल्लो मुद्दाका लागि दिएको नमुना औँठा छापलाई रबर स्ट्याम्प बनाएर ३७ लाख रुपैयाँको कागज गर्दागर्दै पनि राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले औँठा छापको विषयमा स्पष्ट रिपोर्ट दिन नसक्दा जिल्ला अदालत रौतहटले पीडक त्रिलोकचन्द्रको पक्षमा फैसला सुनाएको छ,’ सहनी भन्छन्।
जिल्ला अदालतको फैसलाबाट आफू थप पीडित भएको बताउँदै पीडित पक्षले पुनरावेदन अदालतमा मुद्दा दर्ता गराएको छ।

राष्ट्रिय विधि विज्ञान प्रयोगशालासमेतलाई प्रतिवादी बनाएर दिएको उक्त मुद्दासँगै राजा सहनी दिनरात नेता, पत्रकार र सरकारी कार्यालयमा न्यायका लागि गुहार मागिरहेका छन् । नमुना औँठा छापको नमुना सङ्कलन गरी रबर स्ट्याम्प बनाएर ठगी गर्ने नेपालकै पहिलो घटना बनेको छ यो घटना। राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले समेत औँठा छाप र रबर स्ट्याम्पबाट बनाइएको औँठा छापको विषयमा फरक छुट्याउन नसक्ने बताएपछि नेपालमा नयाँ ठगी धन्दा मौलाउने देखिएको छ।

रामचन्द्रले राजा सहनीलाई मात्र होइन, गाउँका अन्य मानिसहरूलाई पनि ठगी गरेको पाइएको छ। गाउँकै वैधनाथ साहलाई पनि राजा सहनीलाई जसरी नै ३० लाख रुपैयाँको कागज बनाएर ठगीको प्रयास गरेको पीडितहरूको भनाइ छ।
प्रयोगशालामाथि प्रश्न
राजा सहनीको औँठा छापको विषयमा राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले दिएको प्रतिवेदनमा आशङ्का उत्पन्न भएको छ। पीडित भनिएका राजा सहनीकै छाप हो या रबर स्ट्याम्प बनाइएको भन्ने सम्बन्धमा उक्त प्रयोगशालाका मुकुल प्रधान, उदयजंगबहादुर राणा र विश्वराज पौडेलले दिएको प्रतिवेदनमा रबर स्ट्याम्पको परीक्षण गर्ने नेपालमा प्रविधि नभएको प्रस्ट भएको छ।

राजा सहनीकै विषयमा अध्ययन गरिरहेका मुकुल प्रधान वरिष्ठ वैज्ञानिक अधिकृत र मधेस प्रदेश कार्यालयका प्रमुख हुन् भने प्रहरी नायव उपरीक्षक उदय जंगबहादुर राणा केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाबाट र विश्वराज पौडेल रेखा तथा लेखा विशेषज्ञ हुन्। न्याय दिने समबन्धमा राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका कर्मचारीहरूले प्रतिवेदनमा देखाएको गैरजिम्मेवार निष्कर्षले पीडित सहनी अहिले सडकमा पुगेका छन् ।

नेपालमा परीक्षण गर्ने प्रविधि नभएको, दक्ष जनशक्ति नभएको उल्लेख गर्दै प्रतिवेदन पेस भएपछि औँठा छापलाई रबर स्ट्याम्प बनाएर ठगी गर्नेहरूको मनोबल थप बढेको छ। यही प्रतिवेदन आएपछि पीडक भनिएका रामचन्द्र सहनीले गाउँमा अन्यलाई ठग्ने क्रम बढेको बताइएको छ। ३७ लाख रुपैयाँको मुद्दामा यस्तो जिल्ला अदालतको फैसलाप्रति पीडित पक्षले आशङ्काका दृष्टिले हेरेका छन् । ‘कहिले मिल्छ, कहिले मिल्दैन भन्दै २ प्रकारको रिपोर्ट दिनुले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको विषयमा नै हामीलाई आपत्ति छ’, पीडित राजा सहनीले भने ।

पर्याप्त किताब र तालिम भएमा मात्र रबर स्ट्याम्प र औँठा छापमा फरक छुट्याउन सकिने प्रतिवेदनमा उल्लेख गर्नुले सरकारी निकायको भरोसामाथि गम्भीर आशङ्का उत्पन्न भएको छ। अहिले पीडितहरू पुनरावेदन अदालतबाट न्याय खोजिरहेका छन्। यदि राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले रबर स्ट्याम्प र सक्कली औँठा छापको विषयमा यकिन गरे आफूहरूले न्याय पाउने पीडितहरूको भनाइ छ। १८ माघ २०७७ मा पीडितले नमुना सङ्कलन गरी अनुसन्धानका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट ३ सदस्यीय समितिसमेत गठन भएको देखिएको छ।

अनुसन्धान समितिमा समेत उल्लेखित तीनै जना वरिष्ठ अधिकृत छन्। सहनीकै विषयमा अध्ययन गरिरहेका भनिएका प्रधानसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन। विधि विज्ञान प्रयोगशालाका कर्मचारीहरूले भने सहनीको केस नयाँ भएको र यसको विषयमा केन्द्रबाट समेत अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्