एन्फा अध्यक्ष पुनः विवादमा



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा थप अर्को विषयमा आलोचित भएका छन्। शेर्पाले एक दिन अगाडि फेसबुकमा पोस्ट गरेका विषय विवादित छन् ।

उनले पोखरा रङ्गशाला, दशरथ रङ्गशाला र विराटनगर रङ्गशालाको निर्माण आफ्नो कार्यकालमा भएको भन्दै फेसबुकमा प्रचार गरेका छन्। दशरथ रङ्गशालाको खेल मैदान युवराज लामा सदस्य सचिव रहेको समयमा सुरु भएको हो। यसको निर्माण कार्य राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नै गरेको हो। यसैगरी पोखरा रङ्गशालाको निर्माण १३औँ दक्षिण एसियाली खेलकुदको सन्दर्भमा राखेपले निर्माण गरेको हो। त्यस रङ्गशालाका योजनाकार मानिएका इन्जिनियर विश्वामित्र सञ्जेल अहिले कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव छन्।

यसैगरी विराटनगर रङ्गशाला पनि राखेपले निर्माण गरेको हो। अध्यक्ष शेर्पाको झूट यतिमा सीमित छैन। दोलखा जिल्ला फुटबल संघको अधिवेशनमा छिरिङ प्यानलले खरीढुङ्गामा निर्माणाधीन रङ्गशाला आफूहरूले निर्माण गर्न आँटेको भनेर प्रचार गरेको थियो, जबकि उक्त रङ्गशाला बाग्मती प्रदेश खेलकुद परिषद्ले निर्माण गरिरहेको छ। यति मात्र होइन, गत वर्ष ८० हजार रुपैयाँको यार्सागुम्बा खरिदको बिल बाहिरिएको छ।

हाल कर्मा प्यानलबाट वरिष्ठ उपाध्यक्षका उम्मेदवार भएका शिक्षित पराजुली, आर्थिक समितिका प्रदेशसिंह राठौर र इन्द्रमान तुलाधर यार्सागुम्बाको बिल भुक्तानीमा सरिक छन् । उक्त बिल ५ कात्तिक २०७८ मा भर्पाइ गरिएको हो । एन्फाकै रेकर्डमा १९ कात्तिकमा यो रकम भुक्तानी गरेको देखिएको छ। अहिले थुप्रै जिल्ला फुटबल संघले जिल्ला फुटबल लिगको पैसासमेत नपाएको गुनासो गरेका छन्।

प्रतिक्रिया दिनुहोस्