इलाका प्रहरी कार्यालयद्वारा २१ जना जुवाडे पक्राउ



घोराही : दाङ गढवामा गए राति एक लाख ७५ हजार नगदसहित छ जुवाडे पक्राउ परेको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय गढवाको गस्ती टोलीले गढवा–६ बालापुरस्थित नारायण पोखरेलको घरमा जुवा खेलिरहेको अवस्थामा जुवाडेलाई पक्राउ गरिएको हो । 

 

गढवा गाउँपालिका–६ निवासी होमराज रिजाल, नारायण पोखरेल, राजन रोका, मोहनसिंह बुढामगर, राजमन यादव र सौगात चौधरीलाई नगदसहित जुवाको खालमा पक्राउ गरेको हो । पक्राउ परेकालाई मुलुकी अपराध संहिता दफा १२५ को उपदफा २ को (क) अनुसार मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइने इलाका प्रहरीले कार्यालय गढवाका प्रहरी प्रमुख पञ्चलाल गोलेले जानकारी दिए । 

 

त्यसैगरी प्रहरीले सिन्धुपाल्चोकको मेलम्ची–७ भारती थोकबाट रु ६० हजारसहित नौ जुवाडेलाई पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मेलम्चीबाट गएको टोलीले गए राति ११ः४५ बजे छापा मारी उनीहरूलाई नगदसहित पक्राउ गरेको हो । जुवा खेल्ने बढेको गुनासो आएपछि प्रहरीले सुरक्षा व्यवस्था बढाएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक पर्शुराम मल्लले जानकारी दिए । 

 

केही दिनअघि पनि प्रहरीले मेलम्ची–११ बाट छ जुवाडेलाई नगद रु ३४ हजारसहित पक्राउ गरेको थियो । आजसम्म बिदा रहेकाले पक्राउ परेका १५ जनालाई भोलि म्याद थपको लागि अदालत लगिने मल्लले जानकारी दिनुभयो । लाखाँै रुपैयाँ तासमा हार्न थालेपछि घरकापरिवारका सदस्यले नै गुनासो गर्ने गरेकाले गस्ती बढाइएको मल्लको भनाइ छ । पछिल्लो समय जिल्लामा जुवा, तास खेल्ने सङ्ख्या वृद्धि भएको प्रहरीको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्