चरम आर्थिक संकटमा रोनाल्डिन्हो



ब्राजिल तथा बार्सिलोनाका पूर्व स्टार फुटबलर रोनाल्डिन्हो चरम आर्थिक संकटमा परेका छन् । सरकारी कर र अन्य ऋण तिर्न नसकेका कारण उनी सरकारको निगरानीमा रहेको ब्राजिलियन सञ्चारमाध्यमहरूले जनाएका छन् । सोही कारण उनलाई सरकारले तत्कालका लागि देश छाडेर बाहिर जानसमेत रोक लगाएको छ । त्यसका लागि सरकारले उनको पासपोर्ट नै जफत गरेको ब्राजिलियन पत्रिका फोल्हा डी साओ पाउलोले समाचार छापेको छ । 

रोनाल्डिन्होले ब्राजिलको पोर्ताे एलेग्रीस्थित एक तालछेउमा घर बनाएका थिए । सरकारले रोनाल्डिन्होले सो घर निर्माण गर्दा वातावरणीय क्षति पुर्‍याएको ठहर गरी २० लाख ६० हजार पाउन्ड कर लगाएको छ । सरकारले लगाएको कर तिर्न रोनाल्डिन्होले सोही घर बेच्ने प्रयास गरेका थिए । यद्यपि, स्थानिय एक अदालतले सो घरसमेत बिक्री गर्न रोक लगाइदिएको छ । अदालतले सो घरसँगै उनको नाममा रहेका ५७ वटा घर बिक्री गर्न रोक लगाएको समाचारमा जनाइएको छ । 

त्यसबाहेक उनको १७ लाख पाउन्ड अरू ऋण रहेको पनि पत्रिकाले जनाएको छ । सो ऋण उठाउन सरकारी अधिकारीहरूले ताकेता गरिरहेका छन् । फोल्हा पत्रिकाले लेखेअनुसार उनीबाट ऋण असुल नभएसम्म उनको पासपोर्ट फिर्ता गरिने छैन । अदालतले उनको बारेमा गरेको निर्णय पूर्ण रूपमा सार्वजनिक गर्न भने मानेको छैन ।

रोनाल्डिन्होका वकिलले सरकारले उनको सम्पत्तिमाथि रोक लगाएको अस्वीकार गरेका छन् । उनले पनि अदालतको गोपनीयतासम्बन्धी कानुनका कारण आफूले त्यसमाथि कुनै प्रतिक्रिया दिन नसक्ने बताएका छन् । 

३९ वर्षीय रोनाल्डिन्होले सन् २०१५ मा फुटबलबाट सन्न्यास लिएका थिए । उनी स्पेनी टोली बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्दा दुईपटक वर्षको उत्कृष्ट फुटबलर घोषित भएका थिए । उनले ब्राजिलको राष्ट्रिय टोलीबाट सन् २००२ मा विश्वकप उपाधिसमेत जितेका छन् । 

प्रतिक्रिया दिनुहोस्