छातीमा छुरा प्रहार गरी युवकको हत्या



बाँके : एकापसको विवादमा झडप हुँदा राप्तीसोनारी गाउँपालिका–१ मा एक युवकको मृत्यु भएको छ। गाभरस्थित थकाली होटल भोजनालयमा भएको झडपका क्रममा छुरा प्रहारबाट सोही गाउँका २७ वर्षीय हरिबहादुर बुढामगरको मृत्यु भएको प्रहरीले जनाएको छ। 

 

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक मानबहादुर बिसीका अनुसार बुढामगरको छातीमा छुरा प्रहार भएको हो। मादक पदार्थ सेवन गरी होटल संचालकसँग विवादका क्रममा झडप भएको थियो। 

 

झडपका बेला होटल सञ्चालक चन्द्रकिरण शाह पक्षले बुढामगरमाथि छुरा प्रहार गरेको प्रहरीले बताएको छ। छुरा प्रहारबाट सख्त घाइते बुढामगरको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा शनिवार बिहान करिब ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। 

 

छुरा प्रहार गरेको आरोपमा होटल संचालक शाह र गणेश शाहलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडी बढाइएको प्रहरी निरीक्षक बिसीले जानकारी दिए। 

 

प्रतिक्रिया दिनुहोस्