त्रिविले स्नातकोत्तर परीक्षामा हुबहु प्रश्न दोहोरिएकोबारे छानबिन गर्ने



काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यसपालि अर्थशास्त्र विषयको स्नातकोत्तर परीक्षाको प्रश्नपत्र बनाउँदा लापरबाही गरेको देखिएको छ। पोहोर र यसपालि हुबहु प्रश्न सोधेर मूल्यांकन प्रक्रियामा लापरबाही गरेको गुनासो विद्यार्थीहरूले गरेपछि प्रश्नपत्र दोहोरिएको सम्बन्धमा त्रिविले छानबिन गर्ने भएको छ।

त्रिवि मानविकी तथा समाजशास्त्र संकायका डिन प्राध्यापक कुसुम शाक्यले प्रश्नपत्र हुबहु दोहोरिएकोबारे छानबिन गर्ने बताइन्।

‘के कारणले गत वर्षको प्रश्नपत्र दोहोरियो भन्नेमा हामी छानबिन गर्छौं,’ उनले भनिन्, ‘भविष्यमा यस्ता गल्ती नदोहोरिने गरी हामी अगाडि बढ्छौं।’

उनले गत वर्षकै प्रश्नपत्र यसपटक परीक्षामा हुबहु समावेश गर्नु गल्ती भएको बताइन्।

‘हामीले विज्ञ समूहलाई प्रश्नपत्र बनाउने जिम्मा दिन्छौं। विज्ञ समूहले जहिले पनि दुई सेट प्रश्नपत्र बनाएर दिनुहुन्छ,’ उनले भनिन्, ‘त्यहीमध्ये एउटा सेट प्रश्नपत्र परीक्षाका लागि समावेश गर्दा गत वर्षकै दोहोरिएको हो।’

मानविकी संकायले बुधबार स्नातकोत्तर तह तेस्रो सेमेस्टरको अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’ को लिएको परीक्षामा गत वर्षकै प्रश्नपत्र हुबहु दोहोर्‍याएको थियो।

प्रतिक्रिया दिनुहोस्