दलीय राजनीतिले गिजोलेको फुटबल



काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)को आसन्न निर्वाचनका लागि मताधिकारप्राप्त सरस्वती क्लबका प्रतिनिधि उत्तम भण्डारीको प्रतिनिधित्व खारेज भएको छ। संयोग मान्न सकिन्छ, वर्तमान एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाको प्यानलबाट वरिष्ठ उपाध्यक्षका उम्मेदवार भएका शिक्षित पराजुलीको क्लब अहिले विवादमा परेको हो।

भण्डारी एन्फाको सामाजिक उत्तरदायित्व समितिका संयोजक रहेकाले सो समिति एन्फाको स्थायी कमिटीभित्र पर्ने र स्थायी कमिटीका संयोजक, सदस्यहरूको कार्यकाल ४ वर्ष हुने जिकिर गर्दै त्यस्ता व्यक्तिले साधारणसभामा मताधिकार लिन नपाउने व्यवस्थाअनुसार उनको मताधिकार खारेज गर्ने मागलाई निर्वाचन समितिले स्वीकार गरेको हो। फुटबलमा गरेको योगदानको आधारमा भन्दा पनि राजनीतिक शक्तिको आडमा मात्र नेतृत्वमा पुगेकी शेर्पा र पराजुलीको प्रवृत्ति धेरै सन्दर्भमा मिल्दो छ । यी दुवै उपस्थित रहेका धेरै निकाय विवादमा पर्ने गरेका छन्।

आफू जहाँ उपस्थित भयो, त्यो निकाय नै बिगार्ने गरेको आरोप यी दुवैमाथि लाग्ने गरेको छ। २०५७ सालमा नेपाली फुटबलमा राजनीतिक हस्तक्षेप हुँदा कर्मा छिरिङ फुटबल संघमा प्रवेश गरेका थिए। त्यसअघि कर्माको सामाजिक हैसियत सामान्य कांग्रेस कार्यकर्ताभन्दा बढी थिएन। न त खेलकुदमा उनको उल्लेख्य उपस्थिति थियो । २०५० को दशकमा नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी संघको काठमाडौ जिल्ला उपाध्यक्ष हुँदै केन्द्रीय सदस्य भएका थिए उनी। सोही समयमा उनी काठमाडौं कांग्रेसका तत्कालीन जिल्ला अध्यक्ष प्रकाशमान सिंहका निकट पात्र मानिन्थे।

गत महिना खेलाडी विवाद प्रकरणमा सिंहकी पत्नी सिर्जना सिंह काठमाडौं महानगरपालिकामा प्रमुखको उम्मेदवार थिइन्। सिंहको घरदैलो कार्यक्रममा जान भन्दै शेर्पाले खेलाडीसँग राम्रोसँग कुरा पनि नगरी बाहिरिएका थिए। यसै आडमा उनी एन्फामा प्रवेश गरेका थिए। २०५८ सालमा तत्कालीन सदस्य सचिव विनोदशङ्कर पालिखेले गणेश थापा नेतृत्वको फुटबल संघ विघटन गर्दै गीता राणालाई अध्यक्ष बनाएको थियो। सो समितिमा कर्मा उपाध्यक्ष थिए। त्यस समयमा फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा)ले सो राजनीतिक हस्तक्षेप भएको भन्दै मान्यता दिएको थिएन। नेपालमा २ वटा फुटबल संघ कायम रहँदा राष्ट्रिय खेलकुद परिषद्ले मान्यता दिएको एन्फाको साधारणसभामा विनोदशङ्कर पालिखेले कर्मा छिरिङलाई प्रयोग गरेर टासी घलेलाई उम्मेदवार बनाएका थिए।

गीता राणाको विरुद्धमा घले उम्मेदवार भए पनि राणाले नै सो निर्वाचनमा जित हात पारेकी थिइन् । यसपछि पराजय स्वीकार गर्न नसकेको शेर्पा समूहले तत्काल पदीय लाभ लिँदै गणेश थापासँग सम्झौता गरेका थिए। तत्कालीन सदस्य सचिव पालिखेले आफैँले गठन गरेको राणाको कमिटीलाई विघटन गर्दै थापालाई मान्यता दिएका थिए। यसमा उनै शेर्पाको भूमिका थियो। फुटबलमा उपस्थिति जमाएका शिक्षित पराजुलीको उपस्थिति पनि कर्माको जस्तै छ।

शिक्षित पनि फुटबलमा प्रभाव राख्ने व्यक्ति भने होइनन् । कांग्रेस राजनीतिका कारण शेर्पाका निकट रहेका पराजुलीको क्लब विकासमा भने कुनै भूमिमा नभएको स्थानीय कोटेश्वरबासी बताउँछन्। पराजुलीको उपस्थितिसँगै लामो समयदेखि क्लबमा भूमिका निभाएकाहरू क्लबबाट टाढा छन् । नेपाली फुटबलमा अनेकौँ त्यस्ता व्यक्ति छन्, जसको भूमिका सधैँ विवादास्पद छ।

यसअघि गणेश थापाको कार्यकाललाई नेपाली फुटबलमा सबैभन्दा प्रभावकारी कार्यकाल मान्नेको पनि कमी छैन। कर्पोरेट क्षेत्रलाई फुटबलमा आकर्षित गर्ने र आमजनमानसमा फुटबलप्रति ‘क्रेज’ ल्याउने कुरामा थापा कार्यकाल सफल मानिन्थ्यो। थापाको अध्यक्ष कार्यकालमा २ जना उत्कृष्ट खेलाडी उपेन्द्रमान सिंह र हरि खड्काले कार उपहारसमेत पाएका थिए। उनै सिंह खेलाडीको प्रतिनिधित्व भन्दै एन्फामा उपाध्यक्ष छन्। उपाध्यक्षमा निरन्तरता दिन फेरि उम्मेदवार पनि बनेका छन् उनी। सिंहकै जिल्ला भक्तपुरले पनि विवादका कारण एन्फा साधारणसभामा मताधिकार गुमाएको छ।

अहिलेका उत्कृष्ट १० जना खेलाडीले सामान्य सुविधाको माग गर्दै फुटबल टिमबाट बाहिरिँदा पनि चुइँक्कसमेत बोल्न सकेका छैनन् उनी । यसैगरी खड्काले पनि अहिलेसम्म खेलाडी हक–हितको सवालमा एक शब्दसमेत बोलेका छैनन् । राजेन्द्र न्यौपानेको नेतृत्वमा सरस्वती क्लबले पहिलो पटक ए डिभिजनको यात्रा तय गरेको थियो। लामो इतिहास भएको सरस्वतीमा राजेन्द्रलाई प्रतिस्थापन गर्दै शिक्षित नेतृत्वमा पुगेका थिए। पराजुलीकै नेतृत्वमा आफूअनुकूल व्यक्तिबाहेक सबैलाई बेवास्ता गरिने प्रचलनले अहिले सरस्वती क्लब कमजोर बनेको छ।

क्लबमा राजनीतीकरण गरेको आरोपसमेत उनलाई लाग्न थालेको छ। पराजुली कांग्रेसको १४औँ महाधिवेशनका क्रममा काठमाडौं–३२ वडा इकाइ सभापतिमा उम्मेदवार भएर पराजित भएका थिए। कोटेश्वर तीनकुनेकै बासिन्दाका अनुसार शिक्षितको क्लब पदाधिकारी हुनुभन्दा खेलकुदमा कुनै सरोकार थिएन। कर्मा छिरिङ एन्फाका उपाध्यक्ष भएपछि नै उनी पनि फुटबलमा चासो राख्न सुरु गरेका थिए । स्मरणीय छ, शिक्षित पनि कांग्रेस नेता सिंह निकट पात्र मानिन्छन् । कुनै समय कांग्रेस नेता सिंहका निकट भएका कारण एन्फा राजनीतिमा प्रवेश गरेका यी २ अनुहारका बारे अहिले नेता प्रकाशमान सिंह भने मौन छन् ।

कांग्रेस राजनीति र खेलकुदलाई नियालेका प्रकाशमान सिंह निकट एक व्यक्ति भन्छन्, ‘प्रकाशमानको निजी सहायक भएकै कारण कर्माको फुटबलमा उदय भएको साँचो हो। तर, यसको मतलब उनलाई सधैँ बोकेर आफ्नो राजनीतिमा अनावश्यक बाधा खडा गर्ने मूख्र्याइँ उहाँले गर्नुहुन्न।’ विगतमा उनकै सद्भाव र सहयोगमा एन्फामा शेर्पा प्रवेश गरे पनि सिंहको शेर्पाप्रति कुनै रुचि नभएको उनी निकटकै व्यक्तिहरू बताउँछन् । यसका बाबजुद शेर्पा सिंहको नाम लिँदै हिड्न भने छाडेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्