कुटपिटबाट ज्यान गएपछि आठजना प्रहरी नियन्त्रणमा



परासी : पश्चिम नवलपरासीमा अपरिचित समूहको कुटपिटबाट एकजनाको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् । बिहीबार राति जिल्लाको सुनवल नगरपालिका वडा नं १० स्थित गैँडाखाल गाउँमा युवाबीच आपसी विवाद हुँदा कुटपिटसमेत भएको प्रहरीले जनाएको छ । 

 

कुटपिटमा परी गम्भीर घाइते भएका सुनवल–१ बस्ने ३०-३२ वर्षीय गङ्गा कुमालको मृत्यु भएको हो । कुमाललाई इलाका प्रहरी कार्यालयले जिल्ला अस्पताल परासीमा उपचारका लागि पुर्‍याएकामा अस्पतालले राति नै मृत घोषणा गरेको थियो । उनको टाउकामा गहिरो चोट लागेको थियो । 

 

अर्का गम्भीर घाइते सोही ठाउँ बस्ने १६-१७ वर्षीय राम कुँवरको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचारपछि घर फर्केको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । उनको पनि टाउकामा चोट लागेको थियो । 

 

कुटपिटमा भाटो र चिर्पट प्रयोग भएको प्रहरीले जनाएको छ । के कारणले र कसले कुटपिट गरेको भन्ने नखुलेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले सोही दिन नौजना शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।

 

 सोधपुछपछि छजनालाई सोही दिन छोडिएको र बाँकी तीनजनासहित थप पाँचजनालाई नियन्त्रणमा लिई सोधपुछ भइरहेको प्रहरी उपरीक्षक भट्टले जानकारी दिए । अहिले प्रहरी नियन्त्रणमा आठजना रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्