बुटवल-लुम्बिनी प्रसारण लाइन पूरा हुँदै



बुटवल । बुटवल-लुम्बिनी १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माण पूरा हुने अवस्थामा पुगेको छ । आयोजनाका अनुसार साढे १५ किलोमिटर लम्बाइको ओभरहेड तार बिछ्याउने काम सकिएको छ भने योगीकुटीबाट तिनाउसम्म दुई किलोमिटरको भूमिगत लाइन तान्ने काम पनि अन्तिम चरणमा पुगेको छ ।

भूमिगत लाइनका लागि केवल बिछ्याउने काम सम्पन्न भैसकेको छ भने अब नाङ्गो तारसँग केवल जोड्ने काम मात्र बाँकी रहेको र १० दिनमा उक्त काम पनि सकिने आयोजना प्रमुख हरिप्रसाद पाण्डेले बताए । आयोजनासँगै नेपाल-भारतबीच विद्युत् व्यापारका लागि संरचना पनि तयार हुनेछन् । त्यसपछि नेपालले भारतलाई विद्युत् बिक्री गर्नेछ ।

आयोजनाअन्तर्गत भैरहवा नजिकै मैनहिया भन्ने स्थानमा सबस्टेसन निर्माण गरिएको छ । बुटवलमा रहेको राष्ट्रिय प्रसारण लाइन ग्रिडसँग जोडेर २०० मेगावाट क्षमताको लाइन सबस्टेसनमा ल्याइएको छ । अब आयोजना निर्माणको काम सकिने बित्तिकै लाइन चार्जको काम हुने र असारभित्रै आयोजना उद्घाटन हुने पाण्डेको भनाई छ । बीचमा कुनै समस्या नआए आयोजना अव असारभित्रै उद्घाटन हुन्छ, यस क्षेत्रमा विद्युत् आपूर्तिका लागि यो ऐतिहासिक उपलब्धि हो, उनले भने ।

आर्थिक वर्ष २०७३र०७४ ठेक्का सम्झौता भएको १३२ केभी प्रसारण आयोजनाले तीनवटा मुख्य काम चरणबद्ध रूपमा अगाडि बढाएको थियो । जसअनुसार आयोजनाले तीन वर्ष लगाएर रुपन्देहीको मैनहियामा कम्पाउण्ड वालसहितको भवन निर्माण गरेको थियो । त्यस्तै आर्थिक वर्ष २०७३र०७४ मै सुरु भएको सबस्टेसन निर्माणको काम पनि अब अन्तिम अवस्थामा पुगेको आयोजना प्रमुख पाण्डेले बताए । अब ३३र११ र १३२र३३ केभीएको एउटा ट्रान्सफर्मर जडान गर्न बाँकी छ, उनले भने ।

त्यस्तै आयोजनाले तेस्रो महत्त्वपूर्ण काम भूमिगत तार बिछ्याउने काम अगाडि बढाएको हो । यो काम सकिएसँगै आयोजना निर्माण सकिने छ । प्रसारण लाइन आयोजना निर्माणको ठेक्का चिनियाँ र नेपाली ठेकेदारले जेभीमा पाएका थिए । मुडभरी खण्ड जोशी निर्माण कम्पनीले प्रसारण लाइन बनाउने जिम्मा पाएको थियो । यता, सबस्टेसन निर्माणको ठेक्का हाइटेन्सन स्वीच गेजले पाएको थियो ।

आयोजनाका अनुसार हाल भैरहवा क्षेत्रका उद्योग र सर्वसाधारणलाई करिब ६० मेगावाट विद्युत् आपूर्ति भएको छ । जबकि, उद्योग क्षेत्रबाट मात्रै विद्युतको माग ९० मेगावाट छ । आयोजना सम्पन्न हुनासाथ ९० मेगावाट विद्युत् तत्कालै आपूर्ति गर्ने योजनामा आयोजना छ । पछि माग थप भएमा २०० मेगावाट विद्युत् मैनहिया सबस्टेसनबाट उपलब्ध गराउन सकिनेछ ।

भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनी, भैरहवा-लुम्बिनी औद्योगिक कोरिडोरलगायतमा विद्युत् विस्तार र स्तरोन्नतिका लागि प्रसारण लाइन बिस्तार थालिएको थियो । प्रसारण लाइन बनेपछि ती क्षेत्रहरूमा पर्याप्त विद्युत् पुग्नेछ ।

योगीकुटीबाट सब स्टेसन रहेको मैनहियासम्म विद्युत् पुर्‍याउन ५६ वटा विद्युत् पोल गाडिएको छ । आयोजना सुरु भएलगत्तै चारवर्ष जग्गाधनीको अवरोध र बाँकी दुई वर्ष कोरोना महामारीका कारण आयोजना लम्बिन पुगेको पाण्डेले बताए ।

सरकारले आयोजना सुरु गर्दा तीन वर्षमा सक्ने लक्ष्य राखेको थियो । आयोजनाको लागत एक अर्ब १९ करोड रहेको छ । आयोजना सुरु हुनासाथ विद्युत् बिस्तारका लागि जग्गा प्राप्ति गर्ने क्रममा स्थानीयले असहयोग गर्दा ढिलाइ हुन पुगेको आयोजना प्रमुख पाण्डेको भनाई छ । सुरुमा रुट विवादले पनि काम हुन सकेन, त्यो विवाद हटेसँगै फेरि जग्गाको विवाद निम्तियो, हामीकहाँ विकासमा अवरोध गर्ने परिपाटीले यस्ता आयोजनाहरू समयमा सक्न गाह्रो भइरहेको छ, उनले भने ।

बुटवल–लुम्बिनी १३२ केभी यो आयोजनाबाट लुम्बिनी क्षेत्र र अमुवाका लागि एक एक वटा र भैरहवामा औद्योगिक फिडरका लागि ३३ केभिएका दुई वटा ट्रान्समिसन लाइन जडान भएका छन् । त्यस्तै तिलोत्तमा नगर क्षेत्र र स्थानीयका लागि ११ केभिएका दुई वटा ट्रान्समिसन लाइन जडान हुनेछन् । अब मर्चवारमा पनि ३३र११ केभीएको एउटा सबस्टेसन निर्माण हुने पाण्डेले बताए ।

मैनहिया सबस्टेसनसँग जोडेर मैनहिया सम्पत्तिया १३२ केभी प्रसारण लाइन आयोजनाु पनि सँगसँगै अघि बढेको छ । मैनहिया सबस्टेसनदेखि २७ किमी दक्षिण भारतको सम्पत्तियामा भारत सरकारले सबस्टेसन तयार गरिसकेको छ । मैनहिया र सम्पत्तिया सबस्टेसन विद्युत् लाइन जोडिएपछि नेपाल-भारतबीच २०० मेगावाट क्षमताको विद्युत् आयात निर्यात गर्ने बाटो तयार हुनेछ ।

आउँदो असार महिनासम्ममा यो योजना पनि सम्पन्न हुने तयारीमा छ । यसको लागत ९४ करोड रहेको छ । जसमध्ये ४० करोड रुपियाँ जग्गाको मुआब्जामा खर्च हुने छ ।

प्रतिक्रिया दिनुहोस्