जनकपुरधाम : जनकपुरधाम उप–महानगरपालिकाले समायोजन भएर आएका २ जना कर्मचारीलाई कर्मचारीको आवश्यकता छैन भनी हाजिर हुन दिएको छैन्।
समायोजन भएर आएका ललितपुरको गोदावरी नगरपालिकाको शिक्षा शाखामा कार्यरत अधिकृत (आठौं तह) धिरेन्द्रलाल कर्ण र धनुषास्थित स्वास्थ्य चौकी लखौरीबाट कार्यालय सहयोगी रामसकल साहलाई जनकपुरधा उप–महानगरपालिकाका मेयर लालकिशोर साहले हाजिर हुन नदिएको आरोप लागेको छ।
समायोजन सहितको पत्र लिई गत आइतबारदेखि हाजिर हुन आएका अधिकृत कर्णलाई प्रशासकीय अधिकृत सिता परियारले तोक लगाई दिए पनि मेयर साहले कर्मचारीको आवश्यकता नरहेको भन्दै हाजिर हुन नदिएको पत्रकारसँग कुरा गर्दै उनले भने।
कर्ण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्र र गोदावरी नगरपालिकाबाट रमाना लिएर हाजीर हुन गत आइतबार नै जनकपुरधाम उपमहानगरपालिका कार्यालय आइपुगेको थिए। मेयर साहले कर्मचारी फिर्ता पठाएको पत्र संघीय मामिला तथा समान्य मन्त्रालयलाई पनि पठाएका छैनन्।
प्रशासकीय अधिकृत परियार सरुवा भएर आएका कर्णलाई हाजीर गराउने पक्षमा देखिए पनि प्रमुख साह भने हाजिर हुन नदिने पक्षमा देखिएका छन्। अधिकृत कर्णका अनुसार दर्ता शाखामा कार्यरत कर्मचारीलाई मेयर साहले कर्मचारी हाजिर नगराउन आदेश दिएका छन्।
त्यस्तै सरुवा गरिएका कार्यालय सहयोगी रामसकल साह पनि गत असार २० गतेदेखि नै हाजिरका लागि धाइरहेका छन्। प्रशासकीय अधिकृत परियारलाई भेट्दा उनले प्रमुखसँग भेट्न भनेको तर, अहिलेसम्म प्रमुखसँग भेट हुन नसकेको साहले बताए।
आफूलाई के कारणले हाजिर हुन् नदिएको भन्ने जानकारी पनि नभएको उनले दुखेसो पोखे। यता यस विषयको जानकारी लिन खोज्दा मेयर साह व्यस्त रहेको उनका सहयोगीले प्रतिक्रिया दिएका छन्।