सरकारको निशानामा विप्लव, विप्लवको निशानामा एनसेल !



काठमाडौं : सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच जुहारी चलिरहेको छ । विप्लव नेतृत्वको नेकपाका गतिविधिमाथि सरकारले प्रतिबन्ध लगाउँदै नेता कार्यकर्तालाई धमाधम पक्राउ गर्न थालेपछि नेकपाले आफ्ना गतिविधिहरु झन बढाउँदै गएको छ ।

सर्वसाधारणको ज्यान जाने गरी बम विस्फोटनका घटना, चन्दा आतंक र नागरिकमा त्रास र भयको अवस्था सिर्जना गरेको भन्दै सरकारले गएको फागुन २८ गते विप्लव नेतृत्को नेकपाको गतिविधिमाथि प्रतिबन्ध लगाउँदै नेता कार्यकर्ता पक्राउ गर्न थालेको हो । सरकार भ्रष्टाचारमा रमाएको भन्दै विभिन्न ठाउँमा जनकारवाही समेत गरेको बताइएको छ ।

यता प्रधानमन्त्री केपी शर्मा ओलीले भने अब नेपालमा हत्या, हिंसाको राजनीति कुनै पनि हालतमा स्वीकार्य नरहेकाले वार्तामा पटक–पटक बोलाउँदा नआएपछि उसका गतिविधि नियन्त्रणमा लिन बाध्य भएर प्रतिबन्धको बाटो अपनाइएको प्रतिकृया दिएका छन् । सरकार र विप्लव समूहका आ–आफ्नै अडानका कारण जनताले सास्ति खेप्नु परेको छ । 

विप्लवको निशानामा एनसेल

यतिबेला विप्लव समूह एनसेल वाटरमा आफ्नो आक्रोश पोखी रहेको छ । निजि क्षेत्रको मोवाइल सेवा कम्पनिले राज्यलाई तिर्नुपर्ने कर नतिरेपछि जनस्तरमा एनसेलको तीव्र विरोध भयो । सरकारमा रहेका व्यक्तिहरुले निजि स्वार्थका लागि एनसेललाई करमुक्त गर्ने प्रयासमा लागे भन्ने स्वरहरु पनि नसुनिएको होइन् । जनस्तरबाट तीव्र विरोध भएपछि विप्लवले एनसेललाई निशाना बनाएको छ । नेकपाका कार्यकर्ताले देशभरका विभिन्न २१ जिल्लामा एनसेलको टावरमा आगजनी गरेका छन् ।

बुधबार राति र बिहीबार बिहान मुलुकका विभिन्न जिल्लामा रहेका एनसेल टावरमाथि आक्रमण भएको हो । केही ठाउँमा विप्लव कार्यकर्ताले आगजनी गरेको पुष्टि भए पनि केही ठाउँमा भने पुष्टि भइनसकेको छैन । विप्लव समूहले दुई दिनमा ३५ वटा टावरमा आजगनी र विस्फोटन गरेको छ । एनसेल टावरमा भएको आक्रमणपछि कतिपय स्थानमा टेलिफोन सेवा अवरुद्ध भएको छ । 

विप्लवले भोजपुरको रामप्रसाद राई गाउँपालिका १ ओख्रेको डाँडाखर्कमा रहेको एनसेलको टावरको सोलार प्यानल तोडफोड गरेको छ । मोरङको पथरीशनिश्चरे नगरपालिका ६ मंगलबारेस्थित एनसेल टावरमा भएको आगजनी, धादिङको सिद्धलेक गाउँपालिका ६ कुम्पुरडाँडामा, धुनीबेसी नगरपालिका ४ जीवनपुर र थाक्रे गाउँपालिका ३ जुरेथुममा रहेको टावरमा पनि आगजनी गरेको छ । आगजनीबाट टावरका अब्टिकल केबल, तार र सोलार प्यानलमा क्षति भएको छ ।

त्यस्तै नुवाकोटको बेलकोटगढी नगरपालिका ४ स्थित दशचरपेटारेमा रहेको एनसेल टावरमा आगजनी गरिएको छ । आगजनीबाट करिब १५ लाखको क्षति भएको प्रहरीले जनाएको छ । 

मकवानपुरको थाहा नगरपालिका ७ चिसापानीमा रहेको एनसेल टावरमा आगजनी गरेको छ । थाहा नगरपालिका ३ कटुवाल डाँडास्थित एनसेल टावरमा पनि सो समूहले आगजनी गरेको छ ।

यसैगरी इन्द्रसरोवर गाउँपालिका ३ चिरीभन्ज्याङस्थित एनसेल टावरमा पनि आगजनी भएको मकवानपुर प्रहरी कार्यालयले जनाएको छ । 

यता सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १ भोटेचौरमा रहेको एनसेलको टावरमा आगजनी गरेको छ । दुईवटा टायर र ग्यासको सिलिन्डर बालेर टावरमा आगो लगाउँदा सामान्य क्षति भएको छ ।

ललितपुरको कोन्जोस्योम गाउँपालिका २ मा रहेको एनसेल टावरमा विप्लव समूहले आगो लगाउने प्रयास गरेका थिए । 

कास्कीको पोखरा महानगरपालिका २८ को माझठानाको डाँडागाउँस्थित एनसेलको टावरमा आगजनी गरेको छ । आगजनीबाट ट्रान्समिटर, बिजुलीका तार पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

यसैगरी म्याग्दीको बेनी नगरपालिका २ खबराको आम्बोट डाँडास्थित एनसेलको टावरमा आगजनी गरेको छ । आगजनीबाट ब्याट्री र जेनेरेटर नष्ट भएका छन् ।

रूपन्देहीको गैडहवा गाउँपालिका ३ सानी धुपहीमा रहेको एनसेल टावरमा आगजनी गरिएको छ  आगजनीबाट तार जलेको छ ।

बाँकेमा एनसेलको २ टावरमाथि आगजनी गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका २० मनिकापुर नयाँबस्ती र डुडुवा गाउँपालिका ४ मेहमानपुरमा रहेको एनसेलको टावरमा जुटको बोरामा पेट्रोल छर्केर आगजनी गरेको प्रहरीले जनाएको छ । 

अर्घाखाँचीको पाणिनि गाउँपालिका ५ अमवामा टेलिकमको टावरमा आगजनी गरिएको छ । आगजनीबाट रेक्टिफायर मेसिन र त्यसमा लाग्ने तार जल्दा चार लाख बराबरको क्षति भएको छ । 

कपिलवस्तुको बुद्धभूमि नगरपालिका ८ हरिहरपुरमा रहेको एनसेल टावरमा पनि आगजनी गरेको छ । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १० मगरकोटमा रहेको एनसेल टावरमा आगजनी भएको छ । 

विप्लव समूहले सुदूरपश्चिममा एनसेलका १६ वटा टावरमा आगजनी गरेका छन् ।

सल्यानको बागचौर नगरपालिका ५ शिवरथ जारुमारेमा रहेको एनसेल टावर, कैलालीको जानकी गाउँपालिकामा २ वटा, लम्कीचुहा नगरपालिकामा एउटा, गोदावरी नगरपालिकामा एउटा र धनगढी उपमहानगरपालिका ६ मा रहेको एनसेल टावर गरी ५ वटा टावरमा विप्लव समूहले आगजनी र तोडफोड गरेका थिए । 

यस्तै जानकी गाउँपालिका २ र ४ मा रहेका दुईवटा टावरमा आगजनी गरिएको प्रहरीले जनाएको छ । लम्कीचुहा नगरपालिकाको पूर्वी लम्कीमा रहेको एउटा एनसेल टावरमा र गोदावरी नगरपालिका ९ मालाखेतीमा रहेको टावरमा विप्लव समूहले आगजनी गरेको छ । 

आगजनीबाट टावरका उपकरण, जेनेरेटर, कन्ट्रोल बक्स र टावर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाकएको छ । 

यसैगरी बैतडीमा पनि विप्लव समूहका कार्यकर्ताले दुई ठाउँमा एनसेल टावरमा आगजनी गरेको छ । पुरचौंडी नगरपालिका १ उचापात्थर कुँडीधारमा रहेको एनसेलको टावर र मा आगजनी र तोडफोड गरिएको छ । 

डोटीको जोरायल गाउँपालिका १ गोगनपोनी र कटौंचथलामा रहेको एनसेल टावरमा नेकपाका कार्यकर्ताले क्षति पु-याएका छन् । डडेल्धुराको हगुल्टे लेकको टावरमा भएको क्षतिले पहाडी सातवटै जिल्लाको एनसेल फोन सेवा अवरुद्ध भएको छ ।

बझाङमा पनि तीनवटा टावरमा अगजनी गरिएको छ । चिरवित्थड गाँउपालिका धारीडाँडामा रहेको टावर र थलारा गाँउपालिका चित्रुमा रहेको टावर पूर्ण रूपमा क्षति भएका छन भने मष्टा गाँउपालिकाको रिलुको डाडामा रहेको टावरमा पनि आगजनी गरिएको छ ।

अछामको पञ्चदेवल विनायक नगरपालिका र तुर्माखाद गाउँपालिकामा रहेको एनसेलको टावरमा पनि आगजनी गरिएको छ । पञ्चदेवल विनायक नगरपालिका ३ र तुर्माखाद गाउँपालिका ७ तितौडामा रहेको एनसेलको टावरमा विप्लवका कार्यकर्ताले आगजनी गरेका हुन ।

प्रतिबन्धको पाँच महिना 

यस अवधिमा सरकार र विप्लव समूहबीचका टक्करकै सिलसिलामा सात जना नेपाली युवाको ज्यान गइसकेको छ । त्यसमध्ये ६ जना विप्लव पक्ष र एक जना प्रहरी पर्दछन् । त्यसमा पनि प्रहरीको गोलीको सिकार तीन जना भएका छन् भने तीन जना आफ्नै विस्फोटक पदार्थ पड्किएर ज्यान गएको दुखद घटना घटेको छ । यी घटनाबाट नेपाली समाज तरंगित भएको देखिन्छ ।

यसले नेपाली समाजमा फेरि देश अर्को द्वन्द्व तिर जाने हो कि ? भन्ने एउटा आशंकालाई जन्म दिएको छ । सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि अहिलेसम्म ४३ जिल्ला इन्चार्जसहित  १ सय ४८ जना नेतृत्व तहका नेता तथा कार्यकर्ता पक्राउमा परेका छन् । प्रतिबन्धपछि विप्लव रक्षात्मक देखिएका छन् भने सरकार आक्रमक बन्दै गएको छ । 

प्रहरी प्रधान कार्यालयको असार मसान्तसम्मको तथ्यांक अनुसार हालसम्म विप्लव समूहका १ हजार ५ सय १४ जना नेता तथा कार्यकर्ता पक्राउ परिसकेका छन् । तीमध्ये १ सय ४८ जना नेतृत्व तहका रहेका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी विश्वराज पोखरेलले बताए । 

जसका कारण नेतृत्व तहमै विप्लव कमजोर सरकार बलियो बन्दै गएको विश्लेषण सरकारको छ । 

पक्राउ परेका १ हजार ५ सय १४ मध्ये सरकारले गत फागुन २८ गते विप्लव समूहलाई प्रतिबन्ध लगाएपछि ६ सय ९४ जना पक्राउ परेका थिए भने त्यसमध्ये केही रिहा भइसकेका छन् ४३ जिल्लाका जिल्ला इन्चार्ज पनि पक्राउ परेको प्रहरी तथ्यांकले जनाएको छ । 

प्रतिबन्धपछि पक्राउ परेका मध्ये नेतृत्व तहका १ सय ४८ जना छन् भने कार्यकर्ताहरु ५ सय ४६ जना छन् । पक्राउ परेका मध्ये नेतृत्व तह २१ प्रतिशत रहेका छन् ।

विप्लवमाथि सरकारको रणनीति 

केही समय पहिले मात्र सरकारले विप्लवसँग वार्ताको तयारी थालेको जनाएको थियो  । विप्लवलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन ‘रेड कार्पेट’ विच्छ्याएको सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले अभिव्यक्ति दिएका थिए ।

तर, हतियार विसाउने सर्त सरकारले अगाडि सारेको छ भने सरकारलाई विश्वास गर्न अवस्था नरहेको विप्लवको प्रतिकृया छ । आफ्ना कार्यकर्ताको निशर्त रियाइको माग उनिहरुको छ । दुवै पक्षको अडानका कारण वार्ता सकारात्मक भन्दा पनि नकारात्मक र अझ भयावह स्थितिमा धकेलिन लागेको हो की भन्ने शंका बढेको छ ।

वार्ताको सकारात्मक पहल आवश्यक 

सरकार र विप्लव दुवै पक्ष अलिक लचिलो भएर सम्वाद र वार्तामार्फत समस्याको समाधान गर्न जरुरी छ । अन्यथा यसले लामो समयको अन्तरालपछि नेपाली जनताले आशा गरेको शान्ति र स्थायित्वको अभिलाषा पूरा हुन सक्दैन ।

विवादित पक्षहरूको बीचमा विश्वासको संकट हुँदा सहजीकरण वा मध्यस्तता गर्ने पक्ष तटस्थ र कुनै पनि पक्षसँग आबद्ध नभएको भएमा राम्रो हुन्छ । प्रमुख सवाल, दुवै पक्षका बीचमा विश्वासको वातावरण सिर्जना गरेर समस्यालाई शान्तिपूर्वक तवरबाट सम्बोधन गर्न सम्वादको सुरुवात र निरन्तरता दिनु हो । देशमा पुनः रक्तपातयुक्त द्वन्द्व हुनुहुन्न भन्ने अभिलाषा आमनागरिकको छ 

 

प्रतिक्रिया दिनुहोस्