प्रदेश १ सरकारले सांस्कृतिक महोत्सव गर्दै, चार हजारलाई निम्तो



विराटनगर : प्रदेश सरकारले चाडबाडको अवसरमा आउँदो कार्तिक २८ गते जलपान तथा सांस्कृतिक महोत्सव गर्ने भएको छ । प्रदेशका कार्यवहाक मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार पत्रकार सम्मेलन गर्दै यसअघि कार्तिक २६ गते गर्ने भनिएको महोत्सव २ दिन पर सारिएको र भव्य ढंगले गर्ने जानकारी दिएका हुन्।

 

 प्रदेश १ को अस्थायी राजधानीको रुपमा रहेको विराटनगरमा छैठ पर्वको महत्व अझै धेरै भएको कारण छैठको अन्त्यसँगसँगै महोत्सव आयोजना गरिएको र यस खाले पर्वले राष्ट्रियता र सामाजिक सद्भावलाई अझै एकताबद्ध बनाउने प्रदेश सरकारको विश्वास छ।

 

 प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेशको सबै साझा पर्व महोत्सवको रुपमा कार्यक्रम गर्न लागिएको बताए। महोत्सवका अवसरमा मोरङका विभिन्न स्थानीय तहबाट विभिन्न खाले झाँकी तथा नृत्य प्रस्तुत हुने पनि उनले जानकारी दिए। 

 

सांस्कृतिक महोत्सवमा राष्ट्रिय कलाकार दीपाश्री निरौला, विल्सन विक्रम राई (तक्मे बुढा), सुमित खड्का, मैथिली भाषी कलाकार ललितकुमार र संगीतालगायतले सहभागीता जनाउने बताइएको छ।

 

 महोत्सवमा ४ हजार बढीलाई निम्तो बाँडिएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो। उक्त महोत्सव विराटनगरस्थित आदर्श विद्यालयको प्राङ्गणमा हुने कार्यक्रम कार्य संचालन उपसमितिका संयोजक उपेन्द्र दाहालले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस्