मेस्सीलाई तीन महिनाको प्रतिबन्ध, ५० हजार अमेरिकी डलर जरिवाना



काठमाडौं : अर्जेन्टिनी कप्तान लियोनल मेस्सीलाई अन्तर्राष्ट्रिय फुटबलमा तीन महिनाको प्रतिबन्ध लागेको छ।

हालै ब्राजिलमा सम्पन्न ४६ औं संस्करणको कोपा अमेरिकी फुटबल अन्तर्गत तेस्रो स्थानको खेलपछि ‘विवादास्पद अभिव्यक्ति’ दिएका मेस्सीलाई अन्तर्राष्ट्रिय फुटबलबाट तीन महिनाको प्रतिबन्ध लगाइएको हो।

३२ वर्षीय मेस्सीले चिलीसँगको खेलका क्रममा चिलियन कप्तान मेडेलसँग झगडा गरेपछि रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए। त्यसपछि मेस्सीले दिएको कडा अभिव्यक्तिका कारण साउथ अमेरिकन फुटबल कन्फेडेरेसनले मेस्सीलाई अन्तर्राष्ट्रिय फुटबलमा तीन महिनाको प्रतिबन्ध लगाएको हो।

मेस्सीको टोली अर्जेन्टिनाले साबिकको विजेता टोली चिलीलाई हराउँदै कोपा अमेरिकाको तेस्रो स्थानको मेडल जितेको थियो। चिलीसँगको खेलपश्चात मेस्सीले मिडियासँगको कुराकानीमा कडा अभिव्यक्ति दिएका थिए। उनले कोपा अमेरिका भ्रष्ट संस्था भएको र ब्राजिलले कोपा जिताउन सेटिङ मिलाएको भन्दै खरो अभिव्यक्ति दिएका थिए। त्यतिमात्र नभएर उनले तेस्रो स्थानको मेडल लिन पनि अस्वीकार गरेका थिए।

त्यसअघि पनि मेस्सी सेमिफाइनलको खेलमा रेफ्रीविरुद्ध खनिएका थिए। ब्राजिलसँग हारेको खेलमा कप्तान मेस्सीले रेफ्रीले पक्षपाति निर्णय गरेको आरोप लगाएका थिए। उनको सो आरोपछि दक्षिण अमेरिकी फुटबल महासंघले कारबाहीस्वरुप उनलाई तीन महिनाको प्रतिबन्ध र ५० हजार अमेरिकी डलर जरिमानासमेत गरेको हो।

प्रतिबन्धसँगै मेस्सीले आउँदो सेप्टेम्बर र अक्टोबर महिनामा हुने चिली, मेक्सिको र जर्मनीविरुद्वको मैत्रीपूर्ण खेल गुमाउनेछन्। मेस्सीमाथि अगस्ट ३ देखि प्रतिबन्ध लागू हुने बताइएको छ। यद्यपि, मेस्सीले आफूमाथि गरिएको कारबाहीको विषयमा ७ दिनभित्र अपिल गर्न सक्नेछन्।

दुई साताअघि पनि मेस्सीमाथि महासंघले १५ सय रुपैयाँ अमेरिकी डलर र एक खेलको प्रतिबन्ध गर्ने फैसला गरिसकेको छ। दक्षिण अमेरिकी फुटबल महासंघले मेस्सीको आरोप निराधार रहेको बताएको छ। महासंघले मेस्सीमा सम्मानको कमी देखिएको समेत बताएको छ। 

प्रतिक्रिया दिनुहोस्