पोखरेललाई काममा फर्कन नैतिक दबाब



काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलको पेस गरेको बिदा प्रहरी मुख्यालयले अस्वीकृत गरेको छ। उनले १० दिनका लागि मागेको बिदा प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले अस्वीकृत गरेका हुन्।पोखरेल महानिरीक्षक नियुक्तिमा असन्तुष्ट जनाउँदै गत १९ वैशाखदेखि बिदामा छन्।

१ महिने बिदा सकिएपछि उनले थप १० दिन बिदा माग्दै मंगलबार मुख्यालयलाई पठाएको पत्र महानिरीक्षक सिंहले बुधबार अस्वीकृत गर्दै तत्काल हाजिर हुन लिखित निर्देशन दिएका छन्। मन्त्रिपरिषद्ले ५ जना प्रहरी नायव महानिरीक्षक डीआईजीलाई एआईजीमा बढुवा गरेसँगै पोखरेल मानव स्रोत विकास विभाग, नक्सालबाट प्रदेश समन्वय विभागमा सरुवा भएका छन्। मनसुन सुरु भएकाले पोखरेल नेतृत्वको विभागको सक्रिय भूमिका हुने बताउँदै प्रहरी मुख्यालय स्रोतले भन्यो, ‘यसअघिको उहाँ (पोखरेल)को बिदा सकिएको छ, बाढी–पहिरोलगायत विपद्का घटनाको क्षति न्यूनीकरण र उद्धारमा समन्वय महत्वपूर्ण हुने भएकाले तत्काल काममा फर्कन भनिएको छ।’

मुख्यालयको पछिल्लो निर्देशनसँगै पोखरेल विभागीय कारबाहीबाट जोगिन तोकिएको जिम्मेवारीमा हाजिर हुनुपर्ने नैतिक दबाबमा छन्। पूर्व प्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधान पोखरेलले थप बिदा माग्न सक्ने विकल्प भए पनि बिदा स्वीकृत भएकाले कार्यालयमा हाजिर हुनुपर्ने बताउँछन्। ‘प्रहरी उच्च अधिकारीहरूको बिदा प्रहरी प्रधान कार्यालयबाट स्वीकृत हुनुपर्छ, उहाँको हकमा त्यस्तो भएको खबर आएको छ’, उनले द नेपालटप दैनिकसँग भने, ‘बिदा सकिएपछि तोकिएको जिम्मेवारीमा फर्किनै पर्छ।’

सरकारले एआईजीपीद्वय पोखरेल र सहकुलबहादुर थापाभन्दा कनिष्ठ सिंहलाई गत १८ वैशाखमा महानिरीक्षकमा बढुवा गरेको थियो। आफूभन्दा कनिष्ठलाई आईजी बनाइएको भन्दै असन्तुष्ट पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सो रिटको अन्तिम सुनुवाइ यही ३० जेठमा हुँदै छ।

कि राजीनामा गर्नुपर्छ वा काममा फर्किनुपर्छ : डा. इन्द्रजीत राई, सुरक्षाविद्

प्रहरी महानिरीक्षक बढुवामा असन्तुष्ट विश्वराज पोखरेलले दायर गरेको रिट सर्वोच्च अदालतमा विचाराधीन छ। रिटको छिनोफानो केही दिनमा दिनमा हुँदै छ। सरकारले आफूलाई बढुवा गरेन भनेर असन्तुष्टि हुनु स्वाभाविक हो तर उहाँले पटकपटक बिदा माग्दा जिम्मेवारीबाट पन्छिएको बुझ्न सकिन्छ।

यस्तो शैली देशभक्त कर्मचारीबाट सुहाउने कुरा होइन। उहाँको बिदा सकिएको र थप बिदा स्वीकृत नभएको अवस्थामा आफ्नो जिम्मेवारी फर्किनै पर्छ कि त उहाँले राजीनामा गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्