प्रदेश १ को नामकरण गर्न एमालेद्वारा सहजीकरण समिति गठन



विराटनगर । प्रदेश १ को नामकरणका लागि.एमालेले सहजीकरण समिति गठन गरेको छ । एमाले प्रदेश संसदीय दलको बिहीबार बसेको बैठकले ५ सदस्यीय समिति बनाएको हो ।

एमाले नेता एवं पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीको संयोजकत्वमा बनाइएको समितिले प्रदेशको नामकरणका लागि सहजीकरण गर्ने जिम्मेवारी पाएको छ।

समितिमा पूर्वसामाजिक विकास मन्त्रीद्वय जीवन घिमिरे र उषाकला राई, पूर्वउद्योग, पर्यटन वन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुसियैत र प्रदेश सांसद अर्जुन राई रहेका छन् ।

एमाले संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीका अनुसार सहजीकरण समितिले प्रदेशको नामका विषयमा सहमति जुटाउन पार्टीभित्र छलफल गर्ने र चालू बजेट अधिवेशनभित्रै नामकरणका लागि पहल गर्ने छ। लामो समयदेखि अल्झिएको प्रदेशको नामकरणका लागि एमालेले प्रतिबद्ध भएर लाग्ने र आफ्नो तर्फबाट सक्रिय भूमिका निर्वाह गर्ने निर्णय गरेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्