पदाधिकारीसहित स्थायी समिति र पोलिटब्युरो टुंगो लगाउने तयारीमा माओवादी



काठमाडौं । नेकपा माओवादी केन्द्रमा पदाधिकारीसहित स्थायी समिति, पोलिटब्युरो सदस्य र बाँकी रहेको केन्द्रीय सदस्य टुंगो लगाउने गरी गृहकार्य सुरु भएको छ ।

पार्टीको ८ औ महाधिवेशन सकिएको पाँच महिनापछि पार्टीको सम्पूर्ण कमिटी छिनोफानो गर्ने गरी नेताहरू जुटेका हुन् । माओवादी ८ औ महाधिवेशन पुस ११ गतेदेखि ८ दिनसम्म चलेको थियो ।

आगामी असार १५ गते केन्द्रीय समिति बैठकबाट सम्पूर्ण पार्टी कमिटी र जनवर्गीय सङ्गठनको टुंगो लगाउने गरी पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरू गृहकार्यमा जुटेको पूर्व स्थायी समिति सदस्य लीलामणि पोखरेलले बताएका छन ।

स्थानीय तह चुनाव अघि पदाधिकारीसहित स्थायी समिति, पोलिटब्युरो र जनवर्गीय सङ्गठनको कमिटी टुंगो लगाउन खोजे पनि थप विवाद हुने भएकाले रोकिएको थियो । अब आगामी प्रदेश र सङ्घको चुनाव अघि नै पदाधिकारीसहित पार्टी कमिटी र जनवर्गीय सङ्गठनका सबै कमिटीले पूर्णता पाउने गरी गृहकार्य थालिएको छ ।

माओवादीमा पार्टी पदाधिकारी ९ देखि १५ जनासम्म बनाउने गृहकार्य थालिएको छ । अन्य पदमा खासै विवाद नभए पनि महासचिवको बन्नेमा भने चर्को विवाद देखिएको छ । महासचिवका मुख्य दावेदारको रुपमा जनार्दन शर्मा र वर्षमान पुन देखिएका छन ।

अरू नेताहरूले महासचिवमा दाबी गरे पनि अन्य पदमा व्यवस्थापन गर्न सक्ने अवस्था भएकोले शान्त देखिएका छन । महासचिवमा सहमति नभए आन्तरिक चुनाव गरेर भएपनि जानेमा प्रचण्ड आफैँ समेत पुगेका छन ।

यस्तै आगामी केन्द्रीय समिति बैठकमा स्थानीय तह चुनावको विषयमा समीक्षा हुने भएको छ । २०७४ सालको चुनाव र गत वैशाख ३० गते भएको स्थानीय तहको चुनावको तुलना गरेर समीक्षा हुने भएको छ । पार्टीबाट रामबहादुर थापासहित नेताहरू एमाले प्रवेश भएको विषयमा समेत पार्टीमा कस्तो असर पर्‍यो भन्ने विषयमा समेत छलफल हुने भएको छ ।

पार्टीमा अन्तर्घात गर्नेहरूको विषयमा नेताहरूले गृहकार्य थालेका छन । पार्टीका उम्मेदवारविरुद्ध कुनै नेता उभिएको पाइएमा कारबाही हुने भएको छ ।

यस्तै मधेस प्रदेशमा माओवादी पाँचौँ दल भएपछि त्यसको नेताहरूले गम्भीर समीक्षा गर्ने भएका छन् । यदि पार्टीकै नेता दोषी देखिएमा कारबाही समेत गर्ने अवस्थामा प्रचण्ड पुगेका छन्। यसअघि स्थगित भएको एमसीसीका विषयमा एजेण्डाको रुपमा राखिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्