फाल्गुनन्द प्रेरक व्यक्तित्व : प्रधानमन्त्री अाेली



काठमाडौं : प्रधानमन्त्री केपी ओलीले समाज सुधारका लागि राष्ट्रिय विभूति तथा समाज सुधारक फाल्गुनन्दको अभियान अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन्। फाल्गुनन्दको १३४ औं जन्म जयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सामाजिक विकृति, विसंगति हटाउन उनले चलाएको अभियान आजपर्यन्त स्मरणीय रहेको बताएका हुन्।

 

किराँत धर्मावलम्बीले फाल्गुनन्दलाई प्रेरक व्यक्तित्वका रूपमा सम्मान गर्छन्। फाल्गुनन्दले समाज सुधारमा गरेको योगदानको कदर गर्दै सरकारले २०६६ सालमा राष्ट्रिय विभूति घोषणा गरेको थियो। फाल्गुनन्दले विसं १९८८ वैशाख २४ गते पाँचथरको लोब्रेकुटीबाट समाज सुधारका सातबुँदे घोषणापत्र जारी गरेका थिए। प्रधानमन्त्री ओलीले आफू जन्मे हुर्केको समाजमा बेथिति देखेपछि सुधार गर्न फाल्गुनन्दको निरन्तर प्रयास सराहनीय रहेको शुभकामना सन्देशमा व्यक्त गरेका छन्।

 

प्रधानमन्त्री किराँत धर्म, साहित्यको प्रचारका लागि फाल्गुनन्दले गरेको खोज र अनुसन्धानको पनि प्रशंसा गरेका छन्। ओली पहिलोपल्ट प्रधानमन्त्री भएका बेला फाल्गुनन्दको जन्मदिनमा किराँत धर्मावलम्बीलाई सार्वजनिक बिदा दिन थालिएको थियो।

प्रतिक्रिया दिनुहोस्