तारमा झुन्डिएका व्यक्तिको उद्धार गर्न सेनालाई मन्त्रीको अनुरोध



काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नुवाकोटको ककनीस्थित प्रसारण लाइनमा झुन्डिएर बसेका व्यक्तिको उद्धार गर्न नेपाली सेनालाई अनुरोध गरेकी छन।

उनले शनिबार अपराह्नमा फेसबुकमार्फत् नेपाली सेनालाई ककनीस्थित त्रिशूली ‘थ्रि ए’को प्रसारण लाइनमा झुन्डिएका व्यक्तिको उद्धार गर्न अनुरोध गरेको जानकारी दिएकी छन।

ककनी गाउँपालिका-७ स्थित प्रसारण लाइनमा बेलकोटगढी नगरपालिका-१३ घलेगाउँ बस्ने ४४ वर्षीय माइला विक शनिबार बिहान १० बजेदेखि प्रसारण लाइनमा झुन्डिएका छन। उनी तल झर्न मानिरहेका छैनन्।

‘नुवाकोटमा त्रिशूली ‘थ्रि ए’ को प्रसारण लाइनमा रहेका व्यक्तिको उद्धार गर्न मैले नेपाली सेनालाई आग्रह गरेको छु,’ भुसालले भनेकी छन्,‘विद्युत लाइनको जोखिमलाई ध्यान दिएर हेलिकप्टरबाट भए पनि उद्धार गरौं। उद्धारमा साथ दिन सम्बन्धित सबैलाई आग्रह गर्दछु।’

प्रहरीका अनुसार विकको मानसिक सन्तुलन गुमेको छ। जसकारण पनि उनको उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। उनको उद्धार गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटाइसकेको छ।

प्रतिक्रिया दिनुहोस्