नयाँ राजदूतलाई ७ दिने कूटनीतिक प्रशिक्षण



काठमाडौं । विभिन्न देशहरूका लागि राजदूत नियुक्त हुने तयारीमा रहेकाहरूलाई अनुशिक्षणको तयारी गरिएको छ। होस्ट मुलुकहरूबाट सहमतिपत्र (एग्रिमो)को पखाइमा रहेका र नियुक्त भएकाहरू भोलि सोमबारदेखि ‘कूटनीतिक प्रशिक्षण’मा रहनेछन्।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले २० जना नयाँ राजदूतहरूलाई ७ दिने ‘ओरिएन्टेसन’ गर्दै छ। सरकारको ‘थिंक ट्यांक’का रूपमा २०५४ सालमा स्थापना भएको प्रतिष्ठान परराष्ट्र मन्त्रालय मातहतको अर्धसरकारी निकाय हो । प्रतिष्ठानले नवनियुक्त राजदूत, महावाणिज्यदूत तथा परराष्ट्र सेवाका कर्मचारीलाई अनुशिक्षण तथा सेवाकालीन तालिम प्रदान गर्छ।

सरकारले गत चैत अन्तिम साता १२ जना राजनीतिक कोटाका र ८ जना परराष्ट्र सेवाका सहसचिवहरूलाई राजदूत सिफारिस गरेको छ। सत्ता गठबन्धन दलको भागबन्डामा १२ जना र ८ जना करियर राजदूत सिफारिस भएका छन् । संसदीय सुनुवाइ समितिले प्रस्तावित सबै राजदूतहरूको सुनुवाइ सकेर परराष्ट्र मन्त्रालयले होस्ट मुलुकहरूलाई एग्रिमोका लागि पत्राचार गरेको छ।

एग्रिमो आएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले गत बिहीबार कतारका लागि डा. नरेशविक्रम ढकाललाई राजदूत नियुक्त गरेकी छन्। होस्ट मुलुकसँगको कूटनीतिक वार्ता, सम्झौता, जटिल र विवादित विषय किनारा लगाउने खुबीलगायतका द्विपक्षीय सहकार्यमा देखिने नतिजाले राजदूतहरूको कार्य सफलता मापन गर्ने आधार हुन्। त्यसैले होस्ट मुलुकहरूबाट नेपाल लक्षित आर्थिक कूटनीति, व्यापार, पर्यटनलगायतका विभिन्न शीर्षकमा नवनियुक्त राजदूतहरूलाई प्रतिष्ठानले अनुशिक्षण दिने भएको हो।

कुन समारोहमा कस्तो पोसाक लगाउने, औपचारिक र अन्य कूटनीतिक भेटघाटमा अपनाउनुपर्ने सञ्चार व्यवहार, बैठक र अन्य जमघटमा परिकार कसरी पस्किने, खाने तरिकालगायतका विस्तृत पक्षलाई अनुशिक्षणले समेट्छ। अनुशिक्षण परराष्ट्र मन्त्रालयमा हुनेछ। पूर्वराजदूत, पूर्व परराष्ट्र सचिव, परराष्ट्र मामिलाका विज्ञ, पर्यटन, श्रम क्षेत्रका विज्ञ प्रशिक्षक रहन्छन् । त्यसैगरी श्रम तथा रोजगार मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि, उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवहरू पनि प्रशिक्षक रहने प्रतिष्ठानले जनाएको छ।

मन्त्रालयका एक अधिकारीले द नेपालटप दैनिकसँग भने, ‘नेपालमा वैदेशिक लगानी भित्र्याउन र जनजनको सम्बन्धलाई नजिक बनाउन राजदूतहरूको भूमिका महत्वपूर्ण हुने भएकाले नयाँ राजदूतहरूलाई नेपाल लक्षित आर्थिक कूटनीतिका विभिन्न आयामबारे ब्रिफिङ गर्न ओरिएन्टेसन तय गरिएको छ ।’

सरकारले विष्णुपुकार श्रेष्ठ (चीन), दानबहादु्र तामाङ (दक्षिण कोरिया), शर्मिला पराजुली (स्पेन), वासुदेव मिश्र (श्रीलंका), मिलन तुलाधार (रुस), कैलाश पोखरेल (अस्टे«लिया)लाई राजनीतिक कोटामा राजदूत सिफारिस गरेको थियो । डिल्लीराज पौडेल (मलेसिया), कान्ता रिजाल (इजरायल), ज्योति प्याकुरेल (दक्षिण कोरिया), रामसुरज राय यादव (डेनमार्क), नवराज सुवेदी (साउदी अरेबिया) र नरेशविक्रम ढकाल (कतार) पनि त्यसैगरी भागबन्डामा सिफारिस भएका छन् ।

परराष्ट्र सेवाबाट डा. दुर्गाबहादुर सुवेदी (जापान), घनश्याम भण्डारी (बंगलादेश), हरिश्चन्द्र घिमिरे (बहराइन), तीर्थराज वाग्ले (म्यान्मार), डोरनाथ अर्याल (ओमान), सुशीलकुमार लम्साल (इजिप्ट), भरतकुमार रेग्मी (अष्ट्रिया) र निर्मलराज काफ्ले (ब्राजिल) एग्रिमोको प्रतीक्षामा छन्।

प्रतिष्ठानले नवनियुक्त राजदूतहरूलाई अनुशिक्षण दिने गरेकामा यसअघि चीनका लागि पूर्वराजदूतद्वय लीलामणि पौडेल र महेन्द्रबहादुर पाण्डे र बेलायतका लागि पूर्वराजदूत लोकदर्शन रेग्मी अनुशिक्षणबिनै कार्य क्षेत्रमा खटिएका थिए।

पौडेल, पाण्डे र रेग्मी राजनीतिक कोटामा राजदूत नियुक्त भएका थिए। त्यसैगरी गेहेन्द्रराज भण्डारी (बेल्जियम), तापस अधिकारी (पाकिस्तान) र रामकाजी खड्का (जर्मनी)का लागि राजदूतहरू पनि अनुशिक्षण नलिई होस्ट मुलुकका लागि खटिएका हुन् । भण्डारी, अधिकारी र खड्का करियर राजदूत हुन्।

प्रतिक्रिया दिनुहोस्