थातथलो नटेकी संसद् छिरेका नेता



काठमाडौं । नेकपा एमाले महासचिव विष्णु पौडेल प्रतिनिधिसभा निर्वाचनमा रूपन्देही– ३ बाट प्रतिस्पर्धा गर्छन्। उनको थातथलो भने स्याङ्जा हो। उनी २०५१ सालअघि पाल्पा–३ बाट प्रतिस्पर्धा गर्थे। संविधानसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न रूपन्देही–३ सरेका उनी आगामी निर्वाचनमा पनि यही क्षेत्रमा उम्मेदवार बन्दै छन्।

एमाले उपाध्यक्ष ईश्वर पोखरेलको थातथलो ओखलढुङ्गा हो तर उनी अहिलेसम्म उनले यस जिल्लामा चुनावी प्रतिस्पर्धा गर्न पाइलो टेकेका छैनन्। २०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा धनुषा जिल्लामा उम्मेदवार भएका पोखरेल त्यसपछिका निर्वाचनमा काठमाडौं–५ बाट उम्मेदवार बन्दै आएका छन्।

यही क्षेत्रबाट २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा नरहरि आचार्य सांसद बने तर उनको थातथलो भने तनहुँ हो। यस निर्वाचन क्षेत्रका अधिक स्थान २०६४ सालअघि क्षेत्र नम्बर–३ मा थिए। त्यसबेला पनि ईश्वर पोखरेल नै यस क्षेत्रका सांसद थिए। शीर्ष नेताहरूले आफ्नो गृहजिल्ला छाडेर अन्य जिल्ला रोज्ने क्रम बढ्दै गएपछि थुप्रै निर्वाचन क्षेत्रका बासिन्दाले लामो समयदेखि आफ्नो थातथलोका प्रतिनिधि चुन्न पाएका छैनन्।

हाल काठमाडौं– २ बाट नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधित्व गर्छन्। तर, उनको थातथलो भने रौतहट हो, जहाँबाट उनी बिरलै चुनाव उठ्छन्। संयोग नै मान्नुपर्छ, संसदीय निर्वाचनको इतिहासमा काठमाडौं–२ (२०६४ सालपछि)ले जम्मा २ पटक मात्र थातथलो सोही क्षेत्रमा भएका सांसद पाएको छ। यहाँबाट एक पटक नारायण ढकाल र एक पटक दीपक कुइँकेल निर्वाचित भए। दुवै उपनिर्वाचनबाट निर्वाचित भएका हुन् । हाल क्षेत्र नम्बर– २ मा परेका ती सबै क्षेत्र विगतमा काठमाडौं–१ मा थिए।

ताप्लेजुङ थातथलो भएका एमालेका महासचिवसमेत रहेका स्वर्गीय मदन भण्डारी २०४८ सालमा काठमाडौं–१ बाट प्रतिस्पर्धा गरी सांसद बनेका थिए । भण्डारीकै धर्मपत्नी राष्ट्रपति विद्यादेवी भण्डारीले २०५० सालमा भएको उपनिर्वाचनमा काठमाडौं–१ नै रोजिन् र विजयी पनि भइन्, जबकि उनको जन्मघर भोजपुर र हालको घर मोरङमा पर्छ। थातथलो छाडे पनि राजनीतिको शिलशिलामा काठमाडौंमा घरजग्गा जोडेकै आधारमा नेताहरू काठमाडौंबाट चुनावी प्रतिस्पर्धा गरिरहँदा कतिपयले चुनावी प्रतिस्पर्धामा थातथलो टेकेका समेत छैनन् । भण्डारी, पोखरेललगायतका नेता यो श्रेणीमा पर्छन्।

२०५१ सालमा भएको मध्यावधि निर्वाचनमा काठमाडौं– १ (हाल २ मा पर्ने)बाट एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी निर्वाचित भएका थिए। उनी पनि काठमाडौंका होइनन् । मोरङ घर भए पनि उनी कहिल्यै मोरङमा चुनावी प्रतिस्पर्धामा देखिएनन् । उनका भाइ भरतमोहन अधिकारी भने ३ वटा संसदीय निर्वाचनमा मोरङबाटै प्रतिस्पर्धा गरे।

मनमोहनको निधनपछि भएको उपनिर्वाचनमा भने एमालेका नारायण ढकाल निर्वाचित भएका थिए । उपनिर्वाचनमा ढकाल विजयी हुनेबाहेक पुरानो काठमाडौं– १ र हालको २ नम्बर क्षेत्रले यही क्षेत्रलाई थातथलो बनाएका नेता पाएको छैन । २०५६ सालमा प्रदीप नेपाल यस क्षेत्रका सांसद भए भने २०६४ सालको संविधानसभा निर्वाचनमा ती सबै स्थान २ नम्बर क्षेत्रमा परे । यस क्षेत्रबाट पहिलो संविधानसभा निर्वाचनमा झक्कुप्रसाद सुवेदी सांसद भएका थिए । सुवेदीको थातथलो भने रोल्पा हो ।

दोस्रो संविधानसभा निर्वाचनमा रौतहटका माधव नेपाल यस क्षेत्रबाट विजयी भए । रौतहटका नेपालको घर भने यही क्षेत्रमा पर्छ। त्यसपछि भएको उपनिर्वाचनमा दीपक कुइँकेललाई दोस्रो पटक स्थानीयबासीले थातथलो भएका रैथाने सांसदका रूपमा पाए । आफ्नो क्षेत्रको प्रतिनिधि कमै पाउने क्षेत्र ललितपुर– ३ पनि हो । २०४८ सालमा भएको निर्वाचनमा प्युठानका लीलामणि पोखरेल सो क्षेत्रका सांसद थिए भने त्यसपछिका २ वटा निर्वाचनमा गोरखाका रघु पन्त सो क्षेत्रका सांसद भए ।

२०६४ सालको संविधानसभा तथा २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा अर्घाखाँचीकी पम्फा भुसाल सो क्षेत्रकी सांसद भएकी छन् । यस निर्वाचन क्षेत्रले थातथलो भएका रैथाने उम्मेदवार २०७० सालमा बल्ल पायो। यस निर्वाचनमा यसै क्षेत्रका मदन अमात्य प्रतिनिधिसभामा निर्वाचित भए। आफ्नो क्षेत्रको बासिन्दालाई नेता बनाउन नपाउने क्षेत्र ललितपुर– १ पनि हो। २०४८ र २०५१ सालमा भएको निर्वाचनमा स्थानीय बासिन्दा मीठाराम शर्मालाई स्थानीयबासीले प्रतिनिधिको रूपमा पाए भने त्यसपछि क्षेत्रबाहिरकी सुशीला नेपाल सांसद भइन् ।

पहिलो संविधानसभा निर्वाचनमा रोल्पाका वर्षमान पुनः सो क्षेत्रबाट निर्वाचित भए भने त्यसपछिको निर्वाचनमा ललितपुर– ३ थातथलो भएका उदयशम्शेर राणा सांसद भए । त्यसो त एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल २०४८ सालदेखि इलाम– १ बाट उम्मेदवार छन्।

उनको घर भएको साँखेजुङ सुरुवातमा इलाम– ३ मा थियो भने हाल सो क्षेत्र इलाम– २ पर्छ। काठमाडौं– १ को अवस्था पनि फरक छ। २०६४ सालमा क्षेत्र पुनःसंयोजन भएयता सोही क्षेत्रमा थातथलो नभएका प्रकाशमान सिंहले सांसदका रूपमा प्रतिनिधित्व गरिरहेका छन्। उनको थातथलो भने काठमाडौं–७ मा पर्छ।

स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धा गर्न प्रतिस्पर्धा गरेकै पालिकाको मतदाता हुनुपर्ने व्यवस्था छ। तर, प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभा निर्वाचनमा यस्तो व्यवस्था नहुँदा अधिकांश नेता आफू मतदाता नभएको र थातथलोभन्दा बाहिरका क्षेत्रबाट प्रतिस्पर्धामा उत्रने गरेका छन्। नेताहरूले यस्तो क्षेत्र पार्टीको पकड र थातथलो छाडेर बनाएका नयाँ घर भएको क्षेत्रका आधारमा छान्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्