वैदेशिक मुद्रा प्राप्तिमा रेमिटको भूमिका उल्लेखनीय : अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रकमबाट ग्रामिण अर्थतन्त्र सुधारमा टेवा पुगेको बताएका छन ।

आइएमई लिमिटेडको २२ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले वैदेशिक मुद्रा प्राप्तिमा रेमिट कम्पनीको भूमिका उल्लेखनीय भएको बताएका हुन् ।

अर्थमन्त्री शर्माले रेमिट्यान्सले ग्रामिण क्षेत्रको खर्च गर्ने क्षमता वृद्धि गरेको बताउँदै यसले गरिबी निवारण गर्ने सरकारको पहलकदमीमा पनि धेरै मदत मिलेको दाबी गरे ।

रेमिट्यान्सको ठूलो रकम उपभोगमा खर्च भइरहेको र आउँदा दिनमा ठूला पूर्वाधारमा लगानी केन्द्रित गर्नुपर्ने खाँचो रहेको उनको भनाइ छ। हुण्डी कारोबारलाई न्यूनीकरण गरी वैधानिक च्यानलबाट विदेशमा रहेको नेपालीको रकम भित्र्याउन रेमिट्यान्स कम्पनीले गरेको योगदानको शर्माले प्रशंसा गरे ।

आर्थिक वर्ष ०७९–८० को बजेटले पनि रेमिट्यान्सका माध्यमबाट वैदेशिक मुद्रा भित्र्याउने धेरै विषयलाई सम्बोधन गरेको उनले जानकारी दिएका छन । अर्थमन्त्री शर्माले आर्थिक वर्ष ०७९–८० को बजेट आयातबाट उत्पादन, जोखिमबाट समष्टिगत आर्थिक स्थिरता र बञ्चितिकरणबाट समावेशीतातर्फको प्रस्थान भएकाले मुलुकको वर्तमान आर्थिक अवस्थालाई बिस्तारै समाधान गरी अघि बढ्ने विश्वास दिलाए।

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले आइएमई लिमिटेडले विदेशी मुद्रा भित्र्याउने संस्कृतिमा रुपान्तरण गरेको बताए। गास, बास र कपासका लागि रेमिट्यान्सको रकम बढी खपत भइरहेकोमा आउँदो दिनमा पुँजी निर्माणमा प्रयोग गर्नुपर्ने आवश्यकता रहेको उनले औँल्याएका छन।

प्रतिक्रिया दिनुहोस्