सागर बहुमुखी क्याम्पसबाट पक्राउ परेका ५ जना विद्यार्थी रिहा 



काठमाडौं : सागर बहुमुखी क्याम्पसबाट पक्राउ परेका ५ जना विद्यार्थीलाई जिल्ला प्रहरी कार्यालय धनुषाले रिहा गरेको छ । 

स्नातक तहको परीक्षाको केन्द्र परिवर्तन भएकोबारे परीक्षार्थीलाई जानकारी नै नदिएको भन्दै जनकपुरको राम स्वरूप राम सागर बहुमुखी क्याम्पस अगाडी परीक्षार्थीहरूले प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा प्रहरीसँग सामान्य झडप समेत भएको थियो ।

प्रदर्शनमा उत्रेका ५ जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका विद्यार्थीलाई अहिले प्रहरीले रिहा गरेको छ । 

रिहा हुनेमा नरेन्द्र कर्ण, रोशन प्रधान, सुभाष यादव सहित अन्य दुई जना रहेका छन् । 

परिक्षार्थीलाई जानकारी नदिई विविएस तहको दोस्रो वर्षको परीक्षा केन्द्र परिवर्तन भएपछि  प्रदर्शन गरेको विद्यार्थी नेता आशुतोष झा नवीनले बताए ।

महोत्तरीको बर्दिवासका दुई, जलेस्वरको एक र धनुषाको दुई वटा निजी कलेजको परीक्षा केन्द्र राम स्वरूप राम सागर बहुमुखी क्याम्पसलाई तोकिएको थियो । तर, व्यवस्थापनमा कठिनाई भएपछि अन्य क्याम्पसमा केन्द्र सारिएको हो ।  

प्रतिक्रिया दिनुहोस्