बर्सेनि मारिन्छन् १ लाखभन्दा बढी बगेडी



काठमाडौं । झट्ट हेर्दा भँगेरोझैँ देखिने तर भँगेराभन्दा केही ठूलो अनि रङ्गी बिरङ्गी पक्षी बगाले बगेडी निकै आकर्षक देखिन्छ । तराईका खेतबारीमा समूहमा रम्ने यो पक्षी केही वर्षयता मान्छेको ठूलो ‘थ्रेट’मा परेको छ। होटल, रेस्टुरेन्टमा निर्धक्क बगेडीको मासु बेचबिखन हुन थालेपछि बर्सेनि ठूलो सङ्ख्यामा यसको सिकार हुने गरेको छ।

होटल, रेस्टुरेन्टको माग पूरा गर्न धमाधम मासु बिक्री हुन थालेपछि नेपालमा ९० प्रतिशत हाराहारी बगाले बगेडीको सङ्ख्या घटेको विज्ञहरूको अनुमान छ । बर्सेनि १ लाखभन्दा बढी बगाले बगेडीको सिकार हुने गरेको अध्ययनले देखाएको छ। यो पक्षीको अनुसन्धानमा क्रियाशील पक्षीविद् डा. हेमबहादुर कटुवाल भन्छन्, ‘बगेडीको बगाल पातलो हुन थालेको छ, अवैध सिकारकै कारण यसको सङ्ख्या घटिरहेको छ, मंसिरपछि एक जिल्लाका सिकारी अर्को जिल्ला पुगेरसमेत सिकार गर्ने गरेका पाइएको छ।’ तराईका अन्य भेगको तुलनामा सर्लाही, धनुषा, महोत्तरी, रौतहट, बारा, पर्सामा ठूलो सङ्ख्यामा बगाले बगेडीको सिकार हुने उनले बताए।

जनकपुर, ढल्केवर, लालगढ, बर्दिवास, वरथवा, मलङ्गवा र आसपासका बजारका होटलका परिकारको सूचीमा बगेडी समेटिने गरेको बताउँदै उनले द नेपालटप दैनिकसँग भने, ‘बगेडीको मासु नपाइने होटल र खाजा घर लगभग हुँदैनन् ।’ ग्राहकको माग धान्न बगेडीको बहानामा भँगेरा, मुनिया, तोपचरालगायत करिब २५ प्रजातिका १ लाखभन्दा बढी साना पक्षीको सिकार हुने गरेको कटुवालले जानकारी दिए। नेपाल र विश्वमा बगाले बगेडीका विभिन्न १५ प्रजातिका अभिलेख भएका छन्। नेपालमा अभिलेख भएकामध्ये ३ प्रजाति रैथाने र बाँकी ११ प्रजाति हिउँदे आगन्तुक हुन्।

चीन, रुस, मंगोलियालगायत उत्तरी ध्रुवमा जाडो बढेपछि विचरणका लागि हरेक वर्ष नेपाल र आसपासका देशमा आउने गर्छन् । वैशाखपछि आफ्नै थातथलो फर्कन्छन् । पहाडी भेगमा भेटिने जुरे बगेडी, उच्च पहाडी भेगमा पाइने सुन, सल्ले र सिलाबाहेक तराई भेगमा भेटिने ११ प्रजातिका बगेडी हिउँदे पाहुनाको सूचीमा रहेका अर्का पक्षीविद् कृष्णप्रसाद भुसालले जानकारी दिए। सिमसार नजिकका घाँसे मैदान, धान खेत, उखुबारी, झाडी, बुट्यानमा बस्ने बगाले बगेडी बराइँ सराइका क्रममा मारिने गरेको उनले बताए।

‘ठूलो समूहमा रहने स्वभाव भएको यो पक्षीलाई शिकार गर्न समूह नै खट्ने गर्छन्, निकै फराकिला जालीको प्रयोग गरेर नियन्त्रणमा लिन्छन्’, भुसालले स्थलगत अनुभव सुनाए। हरेक वर्ष चोरी सिकारीले सङ्ख्या घट्न थालेपछि विज्ञहरूले बगाले बगेडी अतिसङ्कटापन्नको सूचीमा राखेका छन् । चीनलगायतका अन्य देशमा पनि यसको ठूलो सिकार हुने गरेको छ। सरकारले बाघ, गैँडा र अन्य ठूला स्तनधारी वन्यजन्तुको चोरी सिकारी नियन्त्रणलाई प्राथमिकतामा राखे पनि बगाले बगेडी जस्ता पक्षी संरक्षणको प्राथमिकतामा नरहेका नेपाल पक्षी संरक्षण संघ (बीसीएन)लगायतका संघसंस्थाको आरोप छ।

बीसीएनकी प्रमुख कार्यकारी इशाना थापा भन्छिन्, ‘भगेराझैँ सामान्य पक्षीका रूपमा बुझ्दा पाहुना पक्षीमाथि ठूलो थ्रेट बढेको छ, होटल रेस्टुरेन्टहरूमा नियमित बेचबिखन हुने बगेडीबारे सरकार र राज्यका अन्य निकाय थाहा नपाएझैँ गरिरहेका छन्।’ मासुको प्रयोजनका लागि पालिनेबाहेक सबै जीवजन्तु संरक्षित सूचीमा रहे पनि र वन मन्त्रालय मातहतका निकायले बेचबिखनमा मौन समर्थन जनाएका उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्