कांग्रेस राजनीति : यी नेताको नाम २५ वर्षदेखि निरन्तर चर्चामा



काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्रीका समकालीन ३ नेताहरू गगन थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेल महामन्त्रीमा निर्वाचन लडे । थापा र शर्मा विजयी भए । प्रदेश १ को सभापतिमा गुरुराज घिमिरेले उम्मेदवारी दिए तर पराजित बने । यसैगरी बद्री पाण्डे पार्टीको सहमहामन्त्रीमा उठे र जिते।

कांग्रेसको उक्त महाधिवेशनले २ दशकअघिदेखिको क्याम्पस राजनीतिको झझल्को दिएको छ, जहाँ यिनै विद्यार्थी नेताको चर्चा हुने गरेको थियो । २०४८ सालमा बुटवलमा सम्पन्न नेपाल विद्यार्थी संघको अधिवेशनमा मेची अञ्चलको प्रतिनिधित्व गर्दै विश्वप्रकाश शर्मा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । त्यसको केही वर्षपछि प्रदीप पौडेल २०५३ सालबाट, गुरुराज घिमिरे २०५१ सालबाट र गगन थापा २०५३ सालबाट एकाएक चर्चामा आएका थिए ।

२०५१ सालमा अनेरास्ववियुका प्रभावशाली नेता विनोद ढकाललाई हराउँदै गुरुराज महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सभापति भए । संयोग नै मान्नुपर्छ, २८ वर्ष अगाडि ढकाललाई चुनाव हराउनुलाई घिमिरेको सफलता मानिन्थ्यो । २८ वर्षपछि घिमिरे माउ पार्टी कांग्रेसको प्रदेश सभापतिमा पराजित भए पनि अहिले पार्टीमा उनको उचाइ ढकालको आफ्नो पार्टीमा भन्दा बढी मानिन्छ।

शर्माको उपस्थिति भने पार्टीमा फरक छ । २०४८ सालमा भएको बुटवल अधिवेशनको ५ वर्षपछि काठमाडौंमा गर्ने भनिएको अधिवेशन अन्तिम दिन आएर स्थगित भएको थियो । कांग्रेस पार्टी नै छत्तीसे (तत्कालीन संस्थापन पक्षइतर) र चौहत्तरे (तत्कालीन संस्थापन पक्षधर)को नाममा २ गुटमा विभाजित थियो । अन्तिम समयमा पार्टीले हस्तक्षेप गर्दै ६ पद संस्थापनइतर तथा अन्य २१ पद संस्थापन पक्षलाई छाड्दै तदर्थ समिति गठन गरेको थियो। सो समितिमा विश्वप्रकाश महामन्त्री थिए। त्यसको ६ महिनामा विराटनगरमा अधिवेशन गर्ने तयारी भए पनि अन्तिम समयमा पार्टीले हस्तक्षेप गर्दै नयाँ समिति बनाएको थियो।

सो समितिमा शर्मा उपाध्यक्ष भएका थिए । लगत्तै अर्को अधिवेशनमा उनी अध्यक्षमा निर्वाचित भएका हुन्। जुन समय विश्वप्रकाश नेविसंघको महामन्त्री र उपाध्यक्ष भइसकेका थिए, सो समय गगन थापा त्रिचन्द्र क्याम्पसका स्ववियु सदस्य थिए । गगन १४ फागुन २०५३ को निर्वाचनबाट स्ववियु सचिव भएका हुन् भने प्रदीप त्यसै दिन अमृत साइन्स क्याम्पसमा सभापतिमा निर्वाचित भएका थिए ।

२६ वर्षअगाडि १४ फागुन २०५३ मा प्रदीप ४ मतको अन्तरमा स्ववियु सभापतिमा निर्वाचित भए । त्यस समय एमालेमा महाकाली सन्धिसम्बन्धी विवाद उत्कर्षमा थियो । स्ववियु निर्वाचनमा पनि यसको असर प्रस्ट देखिएको थियो । प्रदीपको जितको कारण एकातिर अनेरास्ववियुमा भएको विवाद प्रमुख मानिन्थ्यो भने प्रदीप आफैँ नरम र मिलनसार स्वभावका पनि मानिन्थे ।

गगनको उदयको कथा भने अर्कै छ। छत्तीसे र चौहत्तरेबीचको विवादका कारण त्रिचन्द्र कलेजमा नेविसंघ २ गुटमा विभाजित थियो । त्यसो त उनीभन्दा सिनियर धेरै नेता त्यसै क्याम्पसमा हुनुका बाबजुद भोटमा प्रभाव पार्नका लागि दुवै प्यानलमा गगनलाई सचिवमा उम्मेदवार बनाएका थिए । सो समयमा नेविसंघकै राजेश शाही सभापतिमा पराजित भएका थिए भने हरि आचार्य बागीबाट निर्वाचित भएका थिए।

यसको २ वर्षपछि फेरि २ समूहमा विभाजन हुँदा तत्कालीन संस्थापन पक्ष विभाजित थियो भने संस्थापन पक्षइतरको समर्थन गगनलाई थियो। गगन २०५५ सालमा स्ववियु निर्वाचनमा सभापतिमा निर्वाचित भएका थिए। बद्री पाण्डेको राजनीतिक आरोह–अवरोह भने फरक छ। २०५० सालको सुरुवातमा वाल्मीकि क्याम्पसको नेविसंघ इकाइको सचिवबाट सुरु भएको बद्रीको क्याम्पस राजनीतिबाट उनको उँभो लाग्ने यात्रा सुरु भएको थियो । २०५३ सालमा उनी वाल्मीकि क्याम्पसका स्ववियु सभापति भएका थिए।

२०६० को दशकको सुरुवातमै बद्रीलाई हराउँदै प्रदीप नेविसंघ अध्यक्ष भएका थिए। संयोग मान्नुपर्छ, त्यो समयमा गगनको साथ प्रदीपलाई थियो । त्यस पुस्ताका यी ५ जना युवा नेता अहिले पनि कांग्रेस राजनीतिमा प्रभावशाली मानिन्छन्। आमजनमानसमा सबैको छवि राम्रो छ । यीमध्येका अग्रज भने विश्वप्रकाश नै हुन् । यी ५ जनामा केही विशेषता छन् । ५ जना नै भाषणमा उत्कृष्ट मानिन्छन् । तुलनात्मक रूपमा आमनागरिक पनि यी ५ जनाप्रति सकारात्मक छन् । घटना फेरिएको छ।

गत मंसिरमा सम्पन्न कांग्रेस महाधिवेशमा संस्थापनइतर पक्षबाट निर्वाचनमा महामन्त्रीका उम्मेदवार भएका विश्वप्रकाश शर्मा विजयी भएका थिए। समयको अन्तरालमासँगै अहिले उनी संस्थापन पक्ष निकट देखिएका छन्। गगन थापा पनि महामन्त्रीमा निर्वाचित भए। संस्थापन पक्षबाट उम्मेदवार भएका प्रदीप पौडेल भने महामन्त्रीमा पराजित भएका थिए। जनमानसमा मुलधारको राजनीतिप्रति वितृष्णा बढिरहेको समयमा यी ५ जना नेतामाथिको विश्वास यथावत् छ। यीमध्ये विश्वप्रकाश शर्मा अघिल्लो पुस्ताका मानिन्छन्। डेढ दशक अगाडि यी पाँचै जना तत्कालीन संस्थापन पक्षधर थिए। संस्थापनविरोधी भएका यिनीहरूका समकालीन धेरै नेता मूलधारको राजनीतिभन्दा बाहिर छन् ।

तत्कालीन समयमा विश्वप्रकाश शर्मा नेविसंघ केन्द्रीय समितिका सबैभन्दा राम्रो भाषण कला भएका व्यक्ति मानिन्थे । कलेजस्तरीय वक्तृत्वकला प्रतियोगितामा पाण्डे र पौडेल प्रतिस्पर्धा गरिरहेका हुन्थे । अहिले समय फेरिएको छ, गगनको ‘पब्लिक क्रेज’ यी ५ जनामध्ये सबैभन्दा बढी छ । तत्कालीन समयमा प्रदीपको वाक्पटुता र नम्र स्वभावका कारण एउटा ‘चार्म’ थियो भने अहिले उनको भन्दा गगन र विश्वप्रकाशको ‘चार्म’ धेरै छ ।

गत महाधिवेशनमा महामन्त्रीमा विश्वप्रकाश र गगनसँग पराजित प्रदीप पौडेल आफ्नो पुस्ताको प्रतिनिधित्वप्रति सन्तुष्ट रहेको बताउँछन् । भन्छन्, ‘उहाँहरूले जितेर मैले हारे पनि नेतृत्वमा मेरो पुस्ताको प्रतिनिधित्व भएको छ । यो खुसीको कुरा हो । उहाँहरूको भूमिका परम्परागतभन्दा फरक हुनुपर्छ भन्ने मलाई लाग्छ ।’

प्रतिक्रिया दिनुहोस्