मङ्सिर मसान्तभित्र एकता प्रक्रिया टुङ्गो



काठमाडौंँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता प्रक्रियालाई टुङ्गो लगाउने गरी गृहकार्यका लागि गठित दुई सदस्यीय कार्यदलले आगामी मङ्सिर मसान्तभित्र एकता प्रक्रिया टुङ्गो लगाउने गरी कामकाज भइरहेको बताएको छ ।

 

अाजकाे गाेरखापत्र दैनिकमा याे खबर छ – नेकपा सचिवालय बैठकले यही कात्तिक ८ गते दुई सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदललाई प्रदेश कमिटीको सदस्य सङख्या, केन्द्रीय नेताहरुको जिम्मेवारी तथा पार्टीको तल्लो स्तरसम्मको एकता प्रक्रियाका लागि गृहकार्य गर्ने जिम्मेवारी दिइएको थियो । सोही जिम्मेवारीअनुरुप कार्यदलले सघन रुपमा काम गरिरहेको नेकपाका महासचिव तथा कार्यदलका सदस्य विष्णुप्रसाद पौडेलले बताए ।

 

कार्यदलले गृहकार्य गरी तयार गर्ने प्रतिवेदनलाई पार्टीको सचिवालय बैठकमा प्रस्तुत गर्ने जिम्मेवारी पाएको छ । कार्यदलले गृहकार्यलाई अन्तिम रुप दिइनसकेकाले सचिवालय बैठक बस्न सकेको छैन । यसअघि कात्तिक १२ र १३ गतेका लागि स्थायी कमिटीको बैठक आह्वान गरिएको भए पनि प्रधानमन्त्रीको अस्वस्थता र कार्यदलको तयारी नपुगेको भन्दै अन्तिम समयमा बैठक अर्को सूचना जारी नहुँदा सम्मका लागि स्थगित गरिएको थियो ।

स्थायी कमिटी बैठक सार्ने निर्णय भएलगत्तै पार्टी भित्रका नेताहरुले विरोध गरेका थिए । गत जेठ ३ गते तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता घोषणा भए पनि तल्लो स्तरसम्म एकता प्रक्रिया सो दलले टुङ्ग्याउन सकेको छैन । पाँच महिना पूरा हुँदासमेत पार्टीको एकता प्रक्रिया नटुङ्गिदा पार्टी कार्यकर्ता र नेताहरुबीच टिकाटिप्पणी हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्