हंसपुरका मेयर र उपमेयर पक्षधरबीच झडप, प्रहरीको लाठी चार्जबाट उपमेयरसहित आधा दर्जन घाइते 



जनकपुरधाम : धनुषाको हंसपुर नगरपालिकामा मेयर र उपमेयर पक्षबीच कार्यालय सम्बन्धी भएको विवादमा प्रहरीको लाठी चार्जबाट आधा दर्जनभन्दा बढी स्थानीय घाइते भएको छ । 

मंगलबार दिउँसो प्रहरीको सहयोगमा मेयर रामज्ञान मण्डल पक्षका व्यक्तिहरुले उपमेयर रेणु झाले सञ्चालन गर्दै आएको कार्यालयबाट बलजफ्ती सामग्री लिन खोज्दा दुवै पक्षबीच झडप भएको थियो । 

झडपको क्रममा मेयर पक्षधरसँगै आएका प्रहरी टोलीले गरेको लाठी चार्जबाट हंसपुर नगरपालिकाका उपमेयर झासहित वडा नं. २ बघचौडाका अध्यक्ष उदय साह, तपेश्वर मण्डल, फेकन कापर पुण्य खत्रीलगायत आधा दर्जनभन्दा बढी घाइते भएका छन् । 

घाइतेमध्ये तपेश्वर मण्डलको अवस्था नाजुक रहेको छ । उनको स्थानीय स्थरमा उपचार भई थप उपचारका लागि जनकपुर अञचल अस्पतालमा पठाइएको जनाइएको छ । 

स्थानीयका अनुसार उपमेयरको कार्यालयबाट सामग्री लग्न प्रहरीसँगै मेयर मण्डल पक्षधरका घरेलु हातहतियारसहित दुई ट्याक्टर ५०-६० जनाको समूह आएको थियो । तर, उपमेयर पक्षधरबाट स्थानीय प्रतिकार गर्न खोज्दा दुवै पक्षबीच झडप भएको थियो । 

झडप उग्ररुप लिएपछि प्रहरीले लाठी चार्ज गर्न थालेपछि मेयर पक्षधरका स्थानीय ज्यान जोगाएर भागे पनि उपमेयर पक्षधरले उनको दुवै ट्याक्टर नियन्त्रणमा लिएका छन् । उता प्रहरी दुईजना स्थानीयलाई नियन्त्रणमा लिएका थिए । 

प्रहरीले नियन्त्रणमा लिएका स्थानीयलाई छोडाउन यो समाचार लेख्दासम्म दुईतर्फी झडप जारी रहेको थियो । झपड बढदै गएपछि तारापट्टी, बेलही, धनुषाधाम लगायतका प्रहरी चौकीबाट दर्जनौको संख्यामा नेपाल र शसस्त्र प्रहरी परिचालन गरिएको छ । 

सञ्चारकर्मीसँग कुरा गर्दै उपमेयर झाले भनिन्, ‘मेयर मण्डललाई कार्यालयसम्बन्धी विवादका लागि वार्ताबाट समाधान खोज्न पटकपटक आग्रह गर्दै आएका छौ । तर, उनले मानेन, आज आएर उनले बेलही प्रहरी चौकीका इन्चार्ज रामकुमार साहको सहयोगमा दर्जनौ प्रहरी र लठैत लगाएर आफ्नो कार्यालय लुटन आएको थियो । सोही क्रममा स्थानीयले अवरोध गर्न खोज्दा मेयर मण्डलका लठैत सहित प्रहरीले आधा दर्जनभन्दा बढीलाई कुटपिट गरी घाइते बनाएका छन् । 

प्रहरीसँग सम्पर्क गर्दा आफूहरुले कसैलाई नियन्त्रणमा लिएका छैनौ, आफूहरु सुरक्षाका लागि आएको तर स्थानीयले उल्टै आफूहरुमाथि लागेपछि अवस्था सामान्य बनाउन लाठी चार्ज गर्नु परेको थियो । 

दिउँसो १२ बजेदेखि अहिलेसम्म घटना स्थलमा प्रहरी र बघचौडाका स्थानीयबीच झडप जारी नै छ । तर, सम्बन्धित निकायले समस्या समाधान गर्न तर्फ कुनै चासो देखाएको छैन ।  

 

प्रतिक्रिया दिनुहोस्