‘च्याम्पियन ट्री’ खोज्दै महानगर



काठमाडौं । एक शताब्दी र सोभन्दा पुराना रूख खोजी र संरक्षणमा ललितपुर महानगरपालिका जुटेको छ। नगर क्षेत्रका वर्षौं पुराना ‘च्याम्पियन ट्री’को संरक्षणमा महानगरले चासो लिएको हो।

नेपालका प्रथम वनस्पतिशास्त्री प्रयागराज पाण्डेको स्मृतिमा स्थापित ‘प्रयागराज पाण्डे फाउन्डेसन’ले दशकौँ पुराना रूख जोगाउनुपर्ने खाँचो, संरक्षणमा अपनाउनुपर्ने विधि सुझाएपछि महानगरले यस्तो कदम चालेको हो। नगरका २९ वटै वडाको प्रारम्भिक तथ्याङ्क, राय–सुझाव प्राप्त भएको नगर प्रमुख चिरिबाबु महर्जनले बताए।

करिब डेढ सय पुराना रूखहरू पहिचान भएका र यस्ता रूखलाई नगरकै गहनाका रूपमा जगेर्ना गर्ने उनले जानकारी दिए। ‘पुराना रूखहरूको जात, बाँच्ने उमेर, संस्कृति र जनजीवनसँग जोडिएका विविध सुझाव प्राप्त भएको छ’, महर्जनले द नेपालटपसँग भने, ‘दशकौँ पुराना रूखलाई अझै लामो समयसम्म बचाउने, जोगाउने पहल सुरु गरेका छौँ।’ फाउन्डेसनले कुमारीपाटीको अग्निसालमा अवस्थित ‘बरुण वृक्ष’लाई ललितपुर महानगर क्षेत्रकै सबैभन्दा जेठो रूख ठहर गरेको छ।

त्यसैगरी बङ्गलामुखी मन्दिर परिसरमा रहेको राजवृक्ष राणाकालभन्दा अघिको हुन सक्ने फाउन्डेसनको अनुमान छ। विज्ञहरूका अनुसार तराईको रैथाने राजवृक्ष काठमाडौं र मध्यपहाडी भेगका लागि आयातीत वनस्पति हो। विकसित देशहरूमा शताब्दी पुराना रूखलाई देशहरूमा ‘च्याम्पियन ट्री’का रूपमा बुझ्ने गरिन्छ। पुस्तौँ पुराना रूख जोगाउने ‘च्याम्पियन ट्री’को अभियान अमेरिकाले सन् १९१४ मा सुरु गरेको थियो। क्रमशः बेलायत र अन्य देशमा पनि यो अवधारणा विस्तार भएको फाउन्डेसनका अध्यक्ष एवं वरिष्ठ वनस्पतिविद् पुष्पमान अमात्यले बताए।

पूर्वाधार विकास र अन्य मानवीय क्रियाकलापले शहरी क्षेत्रमा दशकौँ पुराना वृक्ष मासिने क्रम नरोकिँदा नेपालमा ‘च्याम्पियन ट्री’को अवधारणा ढिलो भइसकेको उनको भनाइ छ। शहर र बस्तीको प्राचीन पहिचान बताउन रूख र बोटबिरुवाको योगदान महत्वपूर्ण हुने बताउँदै अमात्यले भने, ‘सम्पदाको जगेर्ना जति महत्वपूर्ण हुन्छ, त्यस्तै महत्व प्राचीन वनस्पतिको पनि हुन्छ, बोटबिरुवा जोगाउन सकेनौँ भने हाम्रो मौलिकता पनि सधैँका लागि मासिन्छ।’

‘सय वर्षभन्दा पुराना रूखको मात्र खोजी र चासो होइन, सोभन्दा कम उमेरका रूखको संरक्षण गर्न जरुरी भइसक्यो भनेर हामीले प्रमुख र महानगरपालिकालाई ध्यानाकर्षण गराएका छौँ’, ललितपुर महानगरका वनस्पति सल्लाहकारसमेत रहेका उनले भने।

नगर क्षेत्रका विद्यालयका पाठ्यपुस्तकमा पुराना रूख, धर्म–संस्कृतिसँग जोडिएका वनस्पतिको महत्व बुझाउने विषय समेट्ने लक्ष्य रहेको नगर प्रमुख महर्जनको भनाइ छ। ‘कतिपय वनस्पति हाम्रो ठाउँका रैथाने होइनन्, अन्यत्रबाट ल्याएर रोपिएको भन्ने पुष्टि भएको छ, यस्तो कुरा हामीले भावी पुस्तालाई थाहा दिनुपर्छ’, उनले भावी लक्ष्य सुनाए।

प्रतिक्रिया दिनुहोस्