किन बढ्दै छ नेपालमा सुनको मूल्य ? यस्तो छ चार कारण 



काठमाडौं : नेपाली बजारमा निरन्तर सुनको मूल्य बढ्दै गएको छ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ६८ हजार पुगेको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो । 

नेपालमा यसरी लगातार सुनको मूल्य बढ्नुको प्रमुख कारण अन्तर्राष्ट्रिय अर्थशास्त्रमा देखिएको अस्थिरता, अमेरिकाी राष्ट्रपति डोनल्ड ट्रम्पको अर्थनीति, कश्मीर तनाव र स्थानीय माग कम भएका कारण सुनको मूल्य लगातार बढिरहेको छ । 

व्यवसायी र अर्थशास्त्रीहरूले हाल अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य बढिरहेकाले त्यसको असर नेपालमा पनि देखिएको बताए ।

चीन र अमेरिकाबीचको व्यापार युद्धले अन्तर्राष्ट्रिय बजार अस्थिर बन्दा धेरै लगानीकर्ता सुनतर्फ आकर्षित भएको हुँदा मूल्य बढेको व्यवसायी र अर्थशास्त्रीको भनाइ छ ।

नेपाल सुनचाँदी व्यवसायी महसङ्घले अमेरिका–चीन व्यापार युद्धकै कारण अहिले सेयर र डलरका लगानीकर्ता सुनतर्फ आकर्षित भएको बताए । त्यसमा इरानसँग अमेरिका र ब्रिटेनको तनाव, एवं कोरिया क्षेत्रमा देखिएको तनावले पनि थप असर पारेको देखिन्छ । 

महासङ्घका अनुसार सोमबार नेपालमा सुनको मूल्य तोक्दा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस १ हजार ४ सय ५३ डलर रहेकोमा मङ्गलबार बढेर १ हजार ४ सय ५९ डलर पुगेको छ ।

त्यस्तै अन्तर्राष्ट्रिय बजारमा आइतबारको तुलनामा मङ्गलबारसम्ममा एक औँस सुनको मूल्य १८ डलर बढिसकेको छ ।

हरेक दिन सवा १० बजे महासङ्घले सुनको मूल्य तोक्ने गरेको छ । नेपालमा भारतीय सुन बजार खुलेपछि मूल्य तोक्ने चलन रहेको महासङ्घले जनाएको छ ।

यसैगरी अर्थशास्त्रीका अनुसार चीन र अमेरिकाको व्यापार युद्धसँगै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाको अर्थतन्त्रका लागि लिएको नीतिले पनि सुनको मूल्यमा वृद्धि भएको बुझ्न सकिन्छ । 

अर्थशास्त्री चन्द्रमणि अधिकारीले अमेरिकाले आफ्नो अर्थतन्त्र तताउने नीति लिएको छ । त्यसैका लागि लामो समयपछि त्यहाँको केन्द्रीय बैंकले ब्याजदर पनि घटाएको छ । त्यसको असर सुनमा देखिएको हो ।

अमेरिकी केन्द्रीय बैंकको नीतिहरूलाई युरोपेली सङ्घले पनि नजिकबाट हेर्ने र त्यसैका आधारमा नीतिहरू बनाउने गरेको उनले बताए । 

अमेरिकाले लिएको नीतिका कारण इन्धनको मूल्य र सेयर बजारमा अस्थिरता बढेको अधिकारीको भनाइ छ ।

त्यस्तै डलरको मूल्य बढ्ने र भारतीय रुपैयाँ कमजोर हुने गर्दा समेत नेपालमा भने सुनको मूल्य बढ्ने गरेको पाइन्छ । 

भारतले कश्मीरलाई विशेषाधिकार प्रदान गर्ने संविधानको एउटा धाराबाट हटाउने निर्णय गरेपछि त्यसका कारण त्यहाँको सेयर बजारमा नकारात्मक असर परेको र भारतीय रुपैयाँ कमजोर बनेको महासंघले जनाएको छ ।

साथै अन्तर्राष्ट्रिय बजारमा सुनतर्फ लगानीकर्ता आकर्षित भए पनि नेपालमा चाहिँ मूल्य बढेकाले सुन किन्नेहरू घटेका छन् । अहिले सुन किन्न आउनेहरू भन्दा पनि सुन बिक्री गर्न आउनेको संख्या धेरै भएको सुन पसलले जनाएको छ । 

सामान्य अवस्थामा नेपालमा दैनिक २५ देखि ३० किलोसम्म सुनको बिक्री हुने गरेकामा अहिले भने दैनिक १० किलोको हाराहारीमा मात्र बिक्री भइरहेको छ ।

नेपालमा अत्यधिक मात्रामा सुनको आयात भएर विदेशी मुद्रा सञ्चितीमा नकारात्मक असर परेको भन्दै सरकारले सुन व्यवसायी र व्यक्तिहरूले सिधै आयात गर्न रोक लगाएको छ ।

विसं २०६६ देखि बैंकमार्फत मात्र व्यवसायीहरुले सुन किन्दै आएका छन् भने बैंकहरुले दैनिक २० किलोका दरले व्यवसायीलाई सुनज बिक्री गर्दै आएको छ । 

 

प्रतिक्रिया दिनुहोस्