मुटुरोगबाट बच्न के गने ?



विश्व मुटु महासंघका अनुसार मुटुको रोगबाट विश्वभर बर्सेनि एक करोड ७५ लाखको ज्यान जाने गरेको छ । यस्तै, नेपालमा अहिले २५ प्रतिशत अर्थात् झन्डै ७५ लाख कुनै न कुनै प्रकारका मुटु रोग बाट पीडित रहेका सरकारी तथ्यांक छ । यो संख्या १० वर्ष यता ५ गुणले बढेको पाइन्छ । खानपानमा सुधार र जीवनशैलीमा परिवर्तन ल्याउन सके मुटुरोगबाट केही हदसम्म बच्न सकिन्छ । मुटुसम्बन्धी रोग लाग्नुको मुख्य कारण असन्तुलित भोजन हो । तसर्थ, खानपानमा विशेष ध्यान दिनु जरुरी छ ।

तनावबाट मुक्ति

मानसिक तनावबाट मुक्ति पाउनु नै धेरै रोगको उपचार हो । हरेक तवरले स्वास्थ्य रहन र प्रसन्न रहन जरुरी हुन्छ । नियमित शारीरिक व्यायाम, योग, प्रणायाम, ध्यानलगायतले शान्त रहन सहयोग पु¥याउँछ । तसर्थ, मानसिक रुपमा स्वस्थ रहन सके मुटुरोगबाट पनि बच्न सकिन्छ । 

धूम्रपान त्याग्नुहोस् 

धूम्रपान, गुट्खाजस्ता तमाखुजन्य वस्तुको सेवनले हृदयघातको जोखिम बढाउँछ । निकोटिनले मुटुको अन्य रोग लाग्ने सम्भावना पनि अत्यधिक हुने भएकाले धूम्रपान गर्नु हुँदैन यस्तै, बाहिरी बाटोमा फैलिएको धुलो, धुवाँका कारण पनि मानिसमा मुटुको समस्या देखिने गरेको छ । तसर्थ, बाहिर भिडभाडमा हिँड्दा मास्क प्रयोग गर्नुपर्दछ ।

स्वस्थकर खाना 

मानिसमा गलत खानपानकै कारण ९० प्रतिशत रोग लाग्ने गर्दछ । यस्तै, स्वादका लागि मात्रै आहार लिने बानीले स्वास्थ्यलाई झन् नकारात्मक असर पारिरहेको छ । अत्यधिक चिल्लो र नुनिलो खानेकुराबाट जोगिनुपर्छ । खानामा सलाद, तरकारीका साथै दैनिक रुपमा मौसमी फलफुल खान जरुरी हुन्छ । रातिको खाना हलुका र छिटो खानुपर्दछ । 

नियमित व्यायाम 

सामान्यतया मानिस पूर्ण रुपमा स्वस्थ रहनका लागि नियमित व्यायाम गर्न जरुरी छ । यसअन्तर्गत छिटोछिटो दगुर्नु, हप्तामा पाँच दिन दैनिक ३०–४० मिनेट खेलमा बिताउनु स्वास्थ्यका लागि एकदमै लाभदायी मानिन्छ । 

नियमित परीक्षण

रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु बुद्धिमानी मानिन्छ । शारीरिक तथा मानसिक रुपमा स्वस्थ रहन नियमित रुपमा चिकित्सकसँग सल्लाह र परीक्षण गर्न आवश्यक हुन्छ । नियमित रक्तचाप, कोलेस्ट्रोल, मधुमेहको परीक्षण गरेमा आफ्नो स्वास्थ्यबारे थाहा पाउन सकिन्छ र धेरै रोगबाट बच्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्